समानुपातिक सिट संख्या तोक्ने काम शुरु

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ४:४३ मा प्रकाशित

biccकाठमाण्डु, १४ मंसिर– निर्वाचन आयोगले समानुपातिक प्रणाली मार्फत् दलहरुले पाउने सिट संख्या निर्धारण गर्न शुरु गरेको छ । समानुपातिक तर्फको मतगणना विहीबार बेलुकी सकिएपछि आयोगले दलहरुले पाउने सिट संख्या टुंगो लगाउने काम सुरु गरेको हो ।

‘सेन्ट लक’ पद्दतीमार्फत् दलहरुले पाएको कूल मतलाई बाँडफाँट गरी सिट संख्या निर्धारण हुने आयोगका आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिए । सिट संख्या टुंगो लागिसकेपछि समानुपातिकको बन्दसूचीमा रहेका सदस्यहरुको नामावली माग्ने उनले बताए । बन्दसूचीबाट संविधानसभा सदस्यहरुको नाम छनौट गरी आयोगमा बुझाउन दलहरुले एक साता र सच्याउन थप तीन दिन समय पाउने छन् ।

प्रत्यक्षतर्फ जस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि नेपाली काँग्रेस पहिलो, नेकपा एमाले दोस्रो र एमाओवादी तेस्रो भएका छन् । प्रारम्भिक विवरण अनुसार समानुपातिकतर्फ काँग्रेसले ९१, एमालेले ८४ र एमाओवादीले ५४ सिट पाउने छन् ।

संविधानसभामा यसपाली कम्तिमा ३० दलको प्रतिनिधित्व हुने अनुमान छ । जसमा एक सिट मात्रै हुने दलको संख्या १६ हुने छ । यसअघि पहिलो संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या २५ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us