कम्युनिष्ट पेल्ने काँग्रेसको योजना

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १५:१६ मा प्रकाशित

Sushil_koiralaकाठमाण्डु, १४ मंसिर–दोस्रो संविधानसभा निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको नेपाली काँग्रेसले एकीकृत माओवादीले भनेजस्तो अन्तरिम संविधान संशोधन पनि नगर्ने र नेकपा एमालेले भनेजस्तो आलोपालो सरकारको नेतृत्व पनि नगर्ने स्पष्ट पारेको छ । बहुमत आफूसँग रहेकाले अब आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको भनाइ छ ।

अन्नपूर्ण पोष्ट दैनिकलाई अन्तरवार्ता दिदै काँग्रेस सभापति सुशील कोइरालाले भनेका छन्, ‘संविधान संसोधन सम्भव छैन । उहाँहरु (एमाओवादी)ले नै होइन, संविधान निर्माणकालागि दुई तिहाइ मत र सरकार निर्माणकालागि जनतासँग बहुमत मागेको ? पहिले आफै त्यस्तो माग्ने अहिले संविधान संशोधनको सर्त राख्ने ? त्यो सम्भव छैन ।’

एमाओवादीले अन्तरिम संविधानको धारा ३८ संशोधन गरी सरकार गठन र संविधान निर्माणमा सहमति कायम गर्न माग गरेको विषयमा कोइरालाको यस्तो प्रतिकृया आएको हो । उनले भनेका छन्, ‘चुनाव नभएको बेलामा मिलाउन संशोधनको कुरा आउँछ । चुनाव भैसकेपछि त्यो कुरा गर्नु पर्दैन ।’

उनले नयाँ संविधान घोषणा नभएसम्म राष्ट्रपति पदमा डा. रामवरण  यादव कायम रहने स्पष्ट पनि पारेका छन् । राष्ट्रपति परिवर्तनको सम्भावनाबारे सोधिएको प्रश्नमा कोइरालाले यस्ता विवादास्पद कुरा गरेर वातावरणलाई दुषित बनाउन नहुने र त्यसो गर्न खोजिए मुलुककालागि घातक हुने चेतावनी पनि दिएका छन् ।

आलोपालो नेतृत्वको प्रस्ताव अस्वीकार

काँग्रेस सभापति सुशील कोइरालाले जनमत आफनो पार्टीसँग रहेकाले सरकारको नेतृत्व पालैपालो गर्न नपर्ने पनि बताए । यसअघि एमाले अध्यक्ष झलनाथ र बरिष्ठ नेता माधव कुमार नेपालले सरकारको नेतृत्वमा बिभिन्न विकल्प मध्ये काँग्रेस र एमालेले चक्रिय प्रणालीबाट नेतृत्व लिन सकिने धारणा राखेका थिए । तर, काँग्रेस सभापति कोइरालाले त्यस्ता कुरा भ्रमपूर्ण भएको टिप्पणी गरेका छन् । ‘एउटा जनादेश दिइसकेपछि फेरि यस्ता भ्रमपूर्ण कुरा गर्नै हुन्न,’ उनले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘के हो पालैपालो भनेको ? सबै मिलेर जाने हो, नेतृत्व काँग्रेसले गर्ने हो । जनताले चुनावमा दिएको जनादेश यही हो ।’ कोइरालाले अन्तरवार्तामा भनेका छन्, ‘म यसबारे झलनाथ जीसँग कुरा गर्छु ।’

वैद्य माओवादीलाई संविधानसभा बाहिरै राख्ने संकेत

काँग्रेसले संविधानसभामा मनोनित २६ सिट वैद्य माओवादीलाई दिन पनि अस्वीकार गरेको छ । वैद्य माओवादीले संविधानसभा बाहिरै बसेर सरकारलाई सुझाव दिनसक्ने उसको धारणा छ । ‘उहाँहरुका २६ जना नेतालाई ल्याउने कुरा उठेको  छ । यसो गर्दा उहाँहरु (वैद्य माओवादी)को अपमान हुन्छ की जस्तो लाग्छ, त्यसैले म यस्तो कुरा गर्न चाहन्नँ,’ सभापति कोइरालाले भनेका छन्, ‘उहाँहरुले बाहिरै बसेर पनि सहयोग गर्न सक्नुहुन्छ ।’

वैद्य माओवादीले २६ सिट अस्वीकार गर्दै सम्मानजनक प्रतिनिधि भए संविधानसभामा जाने बताइसकेको छ । उसले आफ्नो पार्टीलाई संविधानसभा बाहिर राखिए संविधान नबन्ने चेतावनी दिइसकेको छ । २६ सिट दिन सकिने चर्चाबारे पत्रकारहरुको जिज्ञासामा माओवादी उपाध्यक्ष सीपी गजुरेलले भनेका थिए, ‘हामी नागरिक समाज हौं र ? बाहिर बसेर सुझाव दिने ?’

सहमतीय प्रणालीकालागि संबिधान संशोधनका बारे एमाओवादीकासर्तमा काँग्रेसको दृष्टिकोण के हो ?
संबिधान संशोधन संभव छैन,उहाँहरुले नै होइन संबिधान निर्माणका लागि दुई तिहाई मत र सरकार निर्माणका लागि बहुमत जनतासँग मागेको ? पहिला आफै त्यस्तो माग्ने अहिले संबिधान संशोधनको सर्त राख्ने ? त्यो संभव छैन ।
 राष्ट्रपति रामवरण यादवको निरन्तरताकावारेमा पनि प्रश्न उठन थालेका छन के भन्नुहुन्छ ?
उत्तर संबिधान घोषणा नभएसम्म राष्टपति कायम रहने अन्तरिम संबिधनमा तोकिसकेपछि फेरी यस्ता खस्रा मसिना कुरा किन गर्ने? काँग्रेस यस्ता विवादास्पद कुरा गरेर वातावरणलाई दुषित तुल्याउन चाहँदैन । यस्तो विवाद उठाउनु मुलुकका लागि घातक हुन्छ ।
एमाले अध्यक्ष झलनाथ खनालले अहिलेको जनादेश काँग्रेस र एमालेलाई पालैपालो नेतृत्व गर्ने गरी आएको भन्नु भएको छ नी ?
चुनावले एउटा जनादेश दिइसकेपछि फेरी यस्ता भ्रमपूर्ण कुरा गर्नै हुन्न । के हो पालैपालो भनेको ? सबै मिलेर जाने हो र नेतृत्व चाहि काँग्रेसले गर्ने हो । जनताले चुनावमा दिएको जनादेश यहि हो । चुनाव नभएको वेला के गर्ने भन्ने वेलामा पो पालैपालो भन्ने हुन्छ ।म यो कुरा झलनाथ जीसँग पनि पनि गर्छु ।
नेकपा–माओवादीको रेलगाडी छुटयो ?
किन छुटने रेलगाडी ? मुलुकमा ६०१ मत्रै छन र ?अरु मानिस छैनन ? जनता छैनन ? नागरिक समाज छैन बाहिर? अरु दलहरु छैनन ? उनीहरुसँग संबिधान निर्माणका वारेमा छलफल हुँदैन र ? त्यसैले माओवादीको समेत राय सल्लाह लिएर अगाडि बढन सकिन्छ । तर म अझै चाहन्छु उहाँहरु आउनुस,प्रचण्डजीले भन्नु भएको थियो,उहाँहरुलाई २६ सिट दिन सकिन्छ तर म उहाँहरुलाई अपमान हुन्छ कि भन्नेमा सचेत छु । मैले पहिले पनि प्रचण्डजीको यो भनाईमा प्रतिक्रिया दिएको थिए ।
सुशील कोइरालाले २०७० मंसिर १४ गते शुक्रवार अन्नपूर्णपोष्टलाई दिएको अन्तरवार्ताका अंश

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us