जोताहामुखी भूमिसुधारका पक्षमा संबिधान लेख्न माग

काठमाण्डु टुडे २०७० मंसिर १३ गते ३:३० मा प्रकाशित

कञ्चनपुर, १३ मङ्सिर–राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरले अब बन्ने नयाँ संविधानमा जोताहामुखी भूमिअधिकारको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ ।
मञ्चले भूमिहीन किसान, सुकुम्वासी, बाढीपीडित, ऐलानी, आरक्षपीडित, गरिब, दलित, महिला, हलिया, कमैया, लोपोन्मुख जातिलगायतको माग सम्बोधन हुने गरी नयाँ बन्ने संविधानमा व्यवस्था गर्न यहाँका विजयी उम्मेदवारहरुलाई आग्रह गरेको हो ।
चुनावका बेला हरेक दलले भूमि, कृषि र किसानको कुरालाई आफ्ना मुख्य एजेन्डा बनाए पनि सत्ता प्राप्तिपछि यस सवालमा कुनै पनि दलले इमान्दारी नदेखाउने गरेका कारण यहाँका चारवटै निर्वाचन क्षेत्रका विजयी उम्मेदवारहरुलाई भूमिहीनको समस्याबारे जानकारी गराइएको मञ्चका अध्यक्ष पार्वती डगौराले बताइन ।
नेपालमा राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनमा किसानको महत्वपूर्ण भूमिका रहे पनि प्रजातान्त्रिक आन्दोलनसँगै उठेको किसानको भूमि अधिकार आन्दोलन राजनीतिक दृढ इच्छा शक्तिको अभावमा सफल हुन नसकेको उनले बताइन ।
“माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व र १९ दिने दोस्रो जनआन्दोलनको मुख्य मुद्दा पनि भूमि सुधार नै थियो”–उनले भनिन“विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र अन्तरिम तीनवर्षे योजनामा पनि भूमिसुधारलाई प्राथमिकतामा राखियो तर दलहरुले यसलाई नयाँ राजनीतिक परिवर्तनको अवस्थामा जनताको विश्वास जित्ने रणनीति मात्र बनाएका कारण यो समस्या ज्यूँ का त्यूँ रहेकाले संविधानसभामा प्रतिनिधत्व गर्ने नयाँ विजयी उम्मेदवारहरुलाई भेटेर जानकारी गराएका हौँ ।”
“अघिल्लो संविधानसभामा पनि वैज्ञानिक भूमि सुधार, क्रन्तिकारी भूमि सुधार र प्रगतिशील भूमि सुधारका नाममा दलहरुले आ–आफ्नै अडान राखकोका कारण भूमि अधिकारको मुद्दा ओझेलमा परेकाले यसबारे विजयी उम्मेदवारहरुलाई सचेत पारेका छौँ”– उनले भनिन ।
‘दोस्रो संविधानसभामा पनि दलहरुले भूमिसुधार र किसान हितका कुरालाई घोषणापत्रमार्फत अगाडि सारेकाले भूमिअधिकारका क्षेत्रमा प्रगति हुनेमा आशावादी बनेका छौँ’मञ्चका उपाध्यक्ष रामबहादुर चुनाराले भने ।
भूमिको न्यायोचित वितरण र जोताहा किसानलाई भूमिको ग्यारेन्टी र वर्षौंदेखि कमाउँदै आएको जग्गाको जग्गाधनी पुर्जाको व्यवस्थाका लागि विजयी उम्मेदवारहरुसँग आग्रह गरिएको उनले बताए ।
चारैजना उम्मेदवारले भूमिअधिकारको मुद्दालाई संविधानसभामा जोड्दारका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेको समेत उनले बताए । मञ्चका अनुसार कञ्चनपुरमा ३० हजारभन्दा बढी बासिन्दा भूमिहीन रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us