५० घरलाई एक धारा

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ३:४८ मा प्रकाशित

बागलुङ, १२ मंसिर । नगरपालिका भन्ने बित्तिकै त्यहाँ मानवीय आवश्यकताका अधिकतम सुविधा उपलब्ध हुन्छन् भनेर बुझिन्छ । त्यसकै लागि नगरपालिकाको परिकल्पना र विकास गरिन्छ । मानिसहरु सुविधासम्पन्न जीवनयापनका लागि नगरक्षेत्र रोज्दछन् र सुविधा उपभोग गरेबापत राज्यलाई कर तिर्छन् ।

तर बागलुङ नगरपालिकाको एक गाउँका बासिन्दा नगरपालिका बनेको १६ वर्ष बित्दासम्म पनि खानेपानीको चरम अभाव झेल्न बाध्य छन् । पानीजस्तो दैनिक आधारभूत आवश्यकताको समेत परिपूर्ति हुन नसक्नुले नगरक्षेत्र भित्रकै विकासको स्तरमा प्रश्न उठेको छ । नगरपालिकाको वडा नं. ७ स्थित भीरमुनिका बासिन्दा वर्षौंदेखि पिउने पानीको चर्को अभावबाट गुज्रिरहेका छन् ।

उक्त गाउँमा रहेका करिब ५० घरका बासिन्दा अहिले एउटै खानेपानी धारामा निर्भर हुनुपरेको छ, त्यो पनि बर्खायामको समयमा मात्र । हिउँदमा त त्यही धारामा पनि पानी बन्द हुने गरेको छ । ‘पाँच महिना त त्यहीँ धारामा पनि पानी आउँदैन, फागुन लागेपछि घरदेखि टाढाको बाटोमा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ’– स्थानीय शान्त विश्वकर्माले भने । तुलनात्मक रुपमा दलित जातिको बढी बसोबास रहेको उक्त गाउँमा बर्सेनि पानीको समस्या लिएर स्थानीय नगरपालिका धाउने गरे पनि कुनै सुनुवाइ नभएको गाउँलेको भनाइ छ ।

वर्षैपिच्छे पानीको समस्या समाधानका लागि योजना माग गर्न नगरपालिका पुगे पनि कुनै ठोस योजना निर्माणको पहल हुन नसकेको स्थानीय अगुवा कुमार विश्वकर्माले गुनासो गरे । ‘नगरपालिकाबाट पानीका लागि भनेर सानो मात्रामा बजेट छुट्टिन्छ, त्यसले कुनै काम गर्न सकिँदैन, यहाँको आवश्यकताको पहिचान गरी प्राथमिकताका साथ योजना बन्नुपर्छ,’ विश्वकर्माले भने, ‘जताततै कनिका छरेजस्तो गरी बजेट छुट्याइँदा कुनै पनि काम सम्पन्न नहुने र योजना व्यवस्थित नहुने समस्या छ ।’ सदरमुकाम नजिकैको गाउँमा पनि खानेपानीको उचित प्रबन्ध नुहुन दुःखद् भएको उनको भनाइ छ ।

हाल मालिकाबाट ल्याइएको पानी एउटै धाराबाट प्रयोग गर्दै आएका भीरमुनिका ५० घरका बासिन्दाले बर्खायामको समयमा स्थानीय खहरेखोलाबाट ल्याएको अस्थायी पानीबाट समेत आवश्यकता टार्ने गरेका छन् । हिउँदको समयमा त पानीको हाहाकार नै हुने स्थानीयको भनाइ छ । नगरपालिकाले भने पानीको स्रोत नै नभएका कारण योजना निर्माणमा कठिनाइ भएको बताएको छ । तर नगरपालिकाको उक्त जवाफप्रति स्थानीयवासी सन्तुष्ट छैनन् । टाढाबाट भए पनि स्रोत ल्याउनुपर्ने, नभए अन्य वैकल्पिक व्यवस्था गरेर भए पनि नगरपालिकाले पिउने पानीको सहज वितरणको व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग छ ।

बागलुङ नगरपालिका–७ का सचिव रुद्रबहादुर केसीले पानीको समस्या टड्कारो भएको स्वीकार्दै दीर्घकालीन रुपमा पानीको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us