बैङ्कक, ११ मङ्सिर–थाइल्यान्डका विपक्षी दलहरुले मङ्गलबार पनि सरकारका विरुद्धको प्रदर्शनलाई जारी नै राखेका छन ।
प्रदर्शनकारीहरूले सोमबार त्यहाँको अर्थमन्त्रालयमा प्रवेश गरेर विरोध गरेका थिए । मङ्गलबार उनीहरुले सो विरोध प्रदर्शनको कार्यक्रमलाई थप मन्त्रालयमा विस्तार गर्ने जनाएका हुन् । सोही कार्यक्रम बमोजिम मङ्गलबार बिहानैदेखि उनीहरु थप पाँचवटा मन्त्रालयमा प्रवेश गरी त्यहाँबाट ती मन्त्रालयमा कार्यरत कर्मचारीलाई बाहिर निस्किन दबाब दिएका हुन् ।
मङ्गलबार ती प्रदर्शनकारीहरुले थाइल्यान्डको कृषि, पर्यटन, गृह, यातायात र खेलकूद मन्त्रालयमा प्रवेश गरेका हुन् । उनीहरुले सोमबार विदेश तथा अर्थ मन्त्रालमा प्रवेश गरेर विरोध गरेका थिए ।
प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदच्युत गर्न थप सरकारी भवन नियन्त्रण गर्ने चेतावनी दिएका उनीहरु आज ती मन्त्रालयमा प्रवेश गरेर विरोध गरिरहेका विपक्षी गठबन्धनहरुले जनाएका छन् ।
थाइल्यान्डमा अपदस्थ पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको विरोधमा सन् २०१० मा गरिएको यस्तै प्रदर्शनपछि यतिखेर ठूलो सङ्ख्याका नागरिकहरुको सहभागितामा प्रदर्शनहरु हुन थालेका छन् ।
थाकसिनलाई राजावादी सैनिक जनरलहरूले सन् २००६ मा पदमुक्त गरेका थिए । त्यसको विरोधमा पनि यस्तै प्रदर्शन भएको थियो । प्रहरीले करिब ३० हजार प्रदर्शनकारी राजधानीमा सोमबार एक दर्जनभन्दा बढी सरकारी कार्यालयमा पुगेको बताएको छ ।
थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिने सम्बन्धी कानुन पारित गरेको थियो । तर त्यसलाई त्यहाँको राष्ट्रिय सभाले असफल गराइदिएको थियो ।
प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी सो कानुन ल्याएको आरोप विपक्षीहरुले जनाएका छन् ।
पूर्व प्रधानमन्त्री थाकसिन सन् २०१० पछि भ्रष्टाचारको आरोपमा विदेश निर्वासनमा रहँदै आउनुभएको छ । उक्त कानुन पारित भएको भए उहाँलाई स्वदेश फर्किने बाटो खुल्ने थियो ।
सो कानुनको विरोधमा हालका दिनहरूमा सरकारविरोधी प्रदर्शनहरू हुनथालेका हुन । सो कानुनलाई राष्ट्रिय सभाले असफल गराइदिएको भएपनि विरोध प्रदर्शन भने जारी नै रहेका छन् ।
उनीहरुले प्रधानमन्त्री यिङलकको राजिनामाको माग गरेका छन् । प्रधानमन्त्री यिङलकले आफ्ना समर्थकहरूलाई सोमबार आफूले राजिनामा नदिने र संसद पनि विघटन नगर्ने बताएकी छन । तर विशेषज्ञहरूले भने प्रधानमन्त्री यिङलकले सरकारमा नियन्त्रण गुमाउन थालेको धारणा व्यक्त गरेका छन् । सोही कारण विपक्षीहरुले सरकारका विरुद्धमा संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् ।
गत साता थाइल्यान्डको संवैधानिक अदालतले सत्ताधारी दलले संसदको माथिल्लो सभा सिनेटको निर्वाचन गर्न तयार गरेको योजनालाई पनि रोकिदिएको थियो ।
प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबारदेखि प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव राख्नेछ । तल्लो सभामा उनको बहुमत भएकाले उनले सजिलै यसमा विजय हासिल गर्ने देखिएको छ ।
वैधानिक रुपमा संसदमा ल्याइएको उक्त प्रस्तावको मतदानमा सहभागी भई प्रजातान्त्रिक बाटो अबलम्बन गर्नुपर्नेमा विपक्षीहरुले जबरजस्ती मन्त्रालयमा गई सरकारी कामकाज ठप्प पारेको भन्दै आक्रोस व्यक्त गरेको छ ।
प्रधानमन्त्री यिङलकले देशमा पर्यटन व्यवसाय तथा आर्थिक क्षेत्र पनि वर्तमान आन्दोलनका कारण धरासायी हुन थालेको भन्दै तत्कालै आन्दोलन रोकी प्रजातान्त्रिक बाटो अपनाउन विपक्षीहरुलाई आग्रह गर्दै आएकी छन । रासस/एएफपी