हत्याविरुद्ध बान कि मुनद्वारा कडा निन्दा

काठमाण्डु टुडे २०७० मंसिर १० गते ९:३३ मा प्रकाशित

banki moonन्यूयोर्क, १० मंसिर– संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले सुडानको डारफोरमा शान्ति स्थापनार्थ खटिइ आएका राष्ट्रसङ्घीय शान्ति स्थापकको हत्याको कडा शब्दमा निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको तर्फबाट डारफोरमा खटेका शान्ति सैनिकको त्यहाँका विद्रोहीले हत्या गरेका थिए । उत्तरी डारफोरमा खटेका रुवाण्डाली सैनिकको त्यहाँ हत्या भएको थियो । सो हत्याको विरोध गर्दै महासचिव बानले त्यस्ता घटना नदोहोराउन र शान्ति स्थापनाका लागि खटिएका सैनिकलाई कुनै पनि अवस्थामा तारो नबनाउन चेतावनी दिएका छन् ।

आइतबार पनि सो राष्ट्रसङ्घीय मिसनमा खटिएका सेनालाई अज्ञात समूहद्वारा आक्रमण गर्ने तथा धाक धम्की दिने काम भएको भन्दै यस्ता बसै प्रकारका काम रोक्न एक विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । डारफोरमा सन् २००३ देखि विभिन्न विद्रोही समूहले हिंसा मच्चाउन थालेपछि राष्ट्रसङ्घले शान्ति मिसन सुरु गरेको हो । राष्ट्रसङ्घले सन् २००७ देखि नै त्यहाँ मिसन सुरु गरेको हो । डारफोरमा जारी रहेको हिंसामा परी कम्तीमा पनि तीन लाख नागरिकको ज्यान गएको बताइएको छ ।

सो क्षेत्रबाट हरेक दिन नागरिक विस्थापित भइरहेका छन् । हाल डारफोरबाट कम्तीमा चार लाख ६० हजार नागरिक विस्थापित भइसकेका छन् । त्यसयता डारफोरमा अफ्रिकी युनियन र संयुक्त राष्ट्रसङ्घका तर्फबाट संयुक्त रुपमा शान्ति सैनिकहरु काम गरिरहेका छन् । तर त्यहाँ विद्रोहीहरुले शान्ति सैनिकको नै हत्या गर्ने कामलाई निरन्तरता दिइरहेका छन् । प्राय त्यहाँका सैनिकलाई विद्रोहीले लुकिछिपी हमला गर्ने गर्दछन् ।

बितेको करिब चार महिनायता डारफोरमा मात्र कम्तीमा पनि १२ जना शान्ति सैनिकको हत्या भइसकेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us