विश्वशक्ति तथा इरानबीच ऐतिहासिक पारमाणविक सम्झौता,व्याख्या आ-आफनै

काठमाण्डु टुडे २०७० मंसिर ९ गते १६:३० मा प्रकाशित

जेनिभा, ९ मङ्सिर- इरानले आइतबार विश्वका शक्ति मुलुकसँग एक ऐतिहासिक सम्झौता गरी आफ्नो पारमाणविक कार्यक्रममा कटौती गर्न सहमति व्यक्त गरेको छ । यसलाई ती मुलुकले तेहरानलाई पारमाणविक बम प्राप्त गर्न नदिन एक दशक लामो प्रयासमा सबैभन्दा ठूलो पाइलाको रुपमा लिएका छन् ।
तेहरानले यस सम्झौताले युरेनियम प्रशोधन गर्ने आफ्नो अधिकारलाई पहिचान गरेको भनी प्रशंसा गरेको छ भने वासिङटनले यस प्रकारको कुनै पनि कुरा उल्लेख नभएको दाबी गरेको छ । यस सम्झौताले इरानमाथि हालसम्म लगाइएको प्रतिबन्धलाई केही कम गराएको छ भने सम्झौतामा सम्झौताकारी दुई पक्षबीच अझै पनि मतभेद देखिएको छ ।
इजरायलले यस सम्झौताले इस्लामी गणतन्त्रलाई पारमाणविक हतियार प्राप्त गर्न खोज्ने छैन भनी सुनिश्चित गर्न नसकी ऐतिहासिक रुपमा असफलता प्राप्त गरेको भनी आलोचना गरेको छ ।
विश्वका ६ वटा शक्ति मुलुक यस वार्तामा निरन्तर रुपमा क्रियाशील थिए भने उनीहरुले यस प्रारम्भिक सम्झौताको प्रशंसा गरेका छन् । यस्तो सम्झौता हुने कुरा केही महिना अगाडि सोच्न नसकिने थियो भने यसले अस्थायी रुपमा भए पनि दुई पक्षबीच सैनिक तनाव वृद्धि हुने सम्भावना घटाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइतबार अमेरिका तथा उसका नजिकका सहयोगी तथा साझेदारहरुले इस्लामी गणतन्त्र इरानको पारमाणविक कार्यक्रमप्रति आफ्नो चिन्ता समाधान गर्ने एकीकृत समाधानतर्फको महत्वपूर्ण पहिलो पाइला लिएको बताए ।
यस सम्झौताअनुसार इरान तथा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को पाँच सदस्य तथा जर्मर्नीले जेनिभामा स्थानीय समयअनुसार बिहानको ३ः०० बजे तेहरानले युरेनियम प्रशोधनलाई निकै कम स्तरमा सीमित गर्ने घोषणा गरेका छन् । यसै आधारमा इरानले पारमाणविक हतियार प्राप्त गर्न प्रयास गरिरहेको आशङ्का गरिएको थियो ।
यसले २० प्रतिशतसम्म शुद्ध बनाइएको युरेनियमको भण्डारलाई निष्क्रिय बनाउने अमेरिकी विदेशमन्त्री जोन केरीले जेनिभामा बताए । यसअघि ६ महिनाभित्र शुद्ध बनाइएको युरेनियमबाट पारमाणविक हतियार बनाउन सकिने अनुमान गरिएको थियो । यहाँ विदेशमन्त्री केरी तथा अन्य विदेशमन्त्रीले उक्त सम्झौता गर्न सहयोग गरेका थिए ।
यस सम्झौतामा इरानले आफ्नो न्यून प्रशोधित युरेनियमको भण्डारमा थप नगर्ने, नयाँ सेन्ट्रिफ्युज जडान नगर्ने तथा अरक आरणविक भट्टीलाई क्रियाशील नबनाउने व्यवस्था गरिएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री केरीले संयुक्त राष्ट्र सङ्घको आणविक निरीक्षकहरुलाई अभूतपूर्व रुपमा थप पहुँच प्राप्त हुने बताए ।
यसको बदलामा इस्लामी गणतन्त्रलाई सात अर्ब अमेरिकी डलर बराबरको प्रतिबन्धमा छुट दिइनेछ । यदि तेहरानले यस सम्झौतालाई कार्यन्वयन गरेमा उसलाई शक्ति मुलुकले आउँदो ६ महिनासम्म थप प्रतिबन्ध लगाउने छैनन् ।
ह्वाइट हाउसले तेल, अर्थ तथा बैङ्किङ जस्ता अन्य प्रतिबन्ध कायम रहने र यो उपाय सीमित, अस्थायी, लक्षित तथा हटाउनसकिने रहेको उल्लेख गरेको छ ।
जुन महिनामा राष्ट्रपति पदमा निर्वाचित भएका इरानी राष्ट्रपति हसन रुहानीले यस सम्झौताले इरानको माटोमा युरेनियम प्रशोधन गर्ने कुरालाई विश्वका शक्ति मुलुकले स्वीकार गरेको बताए ।
अमेरिकी विदेशमन्त्री केरीले पहिलो पाइलामा इरानलाई प्रशोधनको अधिकार प्राप्त नभएको कुरामा जोड दिए ।
यस सम्झौताका विषयमा शक्ति मुलुकका प्रमुख कूटनीतिज्ञहरुले आफ्ना मुलुकका दर्शकलाई आफ्नै तरिकाले ब्याख्या गरिरहेका थिए भने इरानी विदेशमन्त्री जावेद जरिफले प्रशोधनको अधिकार उक्त सम्झौतामा अन्तरनिहित भएको बताए ।
रसियाले सम्झौतामा सबैजनाले विजय हासिल गरेको र कसैले पनि नहारेको बताएको छ । चीनले भने जेनिभाको दस्तावेजले मध्यपूर्वमा स्थायित्वलाई समर्थन गर्ने धारणा व्यक्त गरेको छ । फ्रान्सले यो सम्झौता सही दिशामा एक पाइला भएको बताएको छ ।
आउँदो ६ महिनामा इरान तथा अमेरिका, चीन, रसिया, फ्रान्स, बेलायत तथा जर्मनीले थप एकीकृत सम्झौताका लागि वार्ता गर्नेछन् ।
इरानी नागरिकहरुले इरानी पारमाणविक कार्यक्रमलाई राष्ट्रिय गौरवको रुपमा हेरेका छन् भने उनीहरुले अब प्रतिबन्ध हटेको देख्न चाहेका छन् ।
जेनिभामा सम्झौतामा हस्ताक्षरपछि इरानी राष्ट्रपति रुहानीले प्रतिबन्धको संरचना चर्कन थालेको बताए । इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीले सम्झौतालाई एक उपलब्धिको रुपमा लिएका छन ।
अर्कोतिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मन्त्रिपरिषदलाई जेनिभामा प्राप्त भएको कुरा ऐतिहासिक सम्झौता नभइ ऐतिहासिक गल्ती भएको बताए ।
अमेरिकामा धेरै कट्टरपन्थीहरुले राष्ट्रपति ओबामा तेहरानसँग वार्ता गरेर सम्झौता गरी इरानप्रति निकै नरम भएको आरोप लगाएका छन् । राष्ट्रपति ओबामाले सेप्टेम्बरमा इरानी राष्ट्रपति रुहानीसँग ऐतिहासिक टेलिफोन वार्ता गरेका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us