१५ हजार नेटो सैनिक रहने

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १२:३८ मा प्रकाशित

काबुल, ६ मंसिर– अफगानिस्तानमा सन् २०१४ को अन्त्यसम्म सबै नेटो सैनिक फर्किसक्ने नेटोआवद्ध राष्ट्रहरूले निर्णय गरिसकेको भएपनि त्यसपछि पनि करिब १५ हजार सैनिक त्यहाँ रहनसक्ने बताइएको छ ।

अफगानिस्तान र अमेरिकाबीचको द्वीपक्षीय सुरक्षा सम्झौता (बिएसए) ले स्विकृत दिएमा १५ हजार जति नेटोसँग आवद्ध विदेशी सैनिक अफगानिस्तानमा बाँकी रहने अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीले बिहीबार बताएका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकासँगको द्वीपक्षीय  सुरक्षा सम्झौताको विषयलाई लिएर भएको छलफलका क्रममा सो विष्या खुलेको हो ।

करिब दुई हजार ५०० आदिवासी प्रमुख, सेनापति र उच्च पदाधिकारीको समभागिता भएको चार दिने छलफलको क्रममा उक्त कुरा अगाडि आएको जनाइएको छ । सो छलफलमा यदि बिएसएले यस प्रस्तावलाई स्वीकार गरेमा १० हजारदेखि १५ हजार विदेशी सैनिक बस्न सक्ने बताइएको छ ।

राष्ट्रपति कारजायीले छलफलमा सहभागी प्रतिनिधिहरूसँग सन् २०१४ पछि अफगानिस्तानमा रहने ती सैनिकहरुमा अमेरिकी सैनिक मात्र नरहने पनि बताएका छन् । उनले नेटोसँग आवद्ध टर्की र अन्य मुस्लिम राष्ट्रका सैनिक पनि त्यहाँ रहनसक्ने प्रष्ट पारेका छन् । टर्की  पनि नेटोको सदस्य राष्ट्र हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us