दार्चुलामा ८० धनुषामा ७० प्रतिशत मत

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १४:१८ मा प्रकाशित

दार्चुला, ४ मङ्सिर- दार्चुलामा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । बिहान ७ बजेबाटै सुरु भएको मतदानमा ५ बजे सम्ममा जिल्लाभरका १२६ मतदान केन्द्रमा करिब ८० प्रतिशत मतदाताले मत खसालेको दार्चुलाका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।

जिल्लाका तीन अस्थायीसहित १२९ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रहरी नायब उपरीक्षक टीकाबहादुर विष्टले बताए । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा ६६ हजार ८२ मतदाता छन् । जिल्लामा १२ राजनीतिक दलका १२ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

जिल्लाका व्यास, खण्डेश्वरी, घुसा, सितौलालगायत छवटा गाविसमा रहेको १२ वटा मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

धनुषामा ७० प्रतिशत

जनकपुरधाम– शान्तिपूर्ण सम्पन्न संविधानसभाको निर्वाचनमा धनुषा जिल्लामा ७० प्रतिशत मत खसेको बताइएको छ । सात निर्वाचन क्षेत्र रहेको धनुषामा तीन लाख ३७ हजार ६९३ मतदातामध्ये आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ७० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

अघिल्लो संविधानसभाको निर्वाचनभन्दा यो संविधानसभाको निर्वाचनमा बढी मतदान केन्द्रहरु भएकाले मतदाताहरुले निर्धक्क भई उत्साहपूर्वक मतदान गरेका थिए । धनुषाको सपही मतदान केन्द्रमा नेपाली काँग्रेस र तराइ मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताबीच सामान्य झड्प भएको थियो भने जनकपुरको भानुचौकस्थित नेपाल बैंक लिमिटेड पछाडि फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको थियो ।

अन्य मतदान केन्द्रमा भने कुनै अप्रिय घटना भएनन् । बेलुका ५ बजे मतदान सकिएपछि मतपेटिकाहरु सदरमुकाम जनकपुर ल्याउने काम भइरहेको छ । धनुषा जिल्लामा रहेको ३०८ मतदान स्थलमध्ये १२५ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील मानिए पनि सुरक्षा व्यवस्था अति कडा पारिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us