मन भएर पनि भोट हाल्न नपाएकाहरु के भन्छन् ?

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १०:४० मा प्रकाशित

election-voteकाठमाण्डु, ४ मंसिर- एक जुगमा एक पटक आउने भनिएको संविधानसभा निर्वाचन नेपालीका लागि भने दोस्रो पटक पनि आयो । आफ्नो सार्वभौम अधिकार मतदानमा अभिव्यक्त गरेर निर्वाचित भएका जनप्रतिनिधिमार्फत संविधान निर्माणको प्रक्रियामा आम नेपाली सहभागी भइरहेको बेला केही मतदाता मतदान गर्न चाहे पनि तस्बिरसहितको मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न वञ्चित भएका छन् ।

निर्वाचन आयोगले पटकपटक मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सार्वजनिक रुपमा आह्वान गरे पनि त्यो समयमा तस्बिरसहितको नामावलीमा नाम दर्ता गराउन नपाएका र विदेशबाट भर्खरै मात्र फर्किएकाले पनि मतदान गर्न पाएका छैनन् । तीमध्येकी एक हुन शान्तिमाया लामा । लामा तीन वर्षभन्दा बढी समय कुवेतमा रोजगारी गरेर फर्केका हुन् । मतदाता नामावलीमा नाम नभएका कारण उनले मतदानमा भाग लिन पाएनन् ।

लामा भन्छन्, ‘मतदाता नामावलीमा तस्बिरसहितको नामावली नभएका कारण यस पटक मतदानमा भाग लिने इच्छा भए पनि पाइन, आफ्नो अधिकार प्रयोग गर्न पाइन ।’ तरुण मावि मतदान केन्द्र अगाडि नागरिकता लिएर उभिएकी लामा पहिले पहिले नागरिकता लिएर जाँदा मतदान गर्न पाइन्थ्यो, यस पटक तस्बिरसहितको नामावली चाहिने रहेछ लामाले भने ।

दैनिक व्यापार व्यवसायमा व्यस्त हुँदा तस्बिरसहितको नामावलीमा नाम दर्ता गर्न नपाएका दोलखाका रामसुन्दर कार्की पनि यस पटक मतदानमा भाग लिन पाएनन् । कार्कीले मन भएर पनि मतदानमा भाग लिन नपाएको गुनासो गरे । गाउँघरका सबै साथी भाइ मतदानमा भाग लिन गए पनि मतदाता नामावलीमा नाम नभएका कारण मतदानमा भाग लिन नपाए पनि देशभरको मतदान स्थितिको बारेमा जानकारी लिइरहेको उनी बताउँछन् ।

एक हप्ता अगाडिमात्र मलेसियाबाट फर्केका धादिङका रामकुमार रुपाखेतीले पनि यस पटक मतदानमा भाग लिन पाएनन् । तस्बिरसहितको नामावलीमा नाम नभएका कारण मतदानबाट वञ्चित भएको उनको भनाइ छ ।

‘लोकतान्त्रिक अधिकार हो, प्रयोग गर्न पाइएन, आफूले इच्छाएको दलले जितोस्, यस पटक नपाइए पनि आगामी दिनको मतदानमा भाग लिनुपर्ला’, रुपाखेतीले भने । मुलुकको भाग्य र भविश्यको फैसला गर्ने महत्वपूर्ण अवसरको रुपमा रहेको संविधानसभा निर्वाचनमा भाग लिने, आफूले इच्छाएको दललाई मतदान गर्ने इच्छा भए पनि मतदानबाट वञ्चित हुनु ठूलो दुःखद विषय हुँदोरहेछ भन्नुहुन्छ नुवाकोट किन्ताङका श्यामबहादुर तामाङ ।

काठमाण्डुमा सवारी चालकको काम गर्ने तामाङले तस्बिरसहितको मतदाता नाम दर्ता गर्न नभ्याएका कारण मतदानमा भाग लिन नपाएको उनको भनाइ छ । ‘मतदान गर्ने रहर त थियो, के गर्नु नामावलीमा नाम नभएका कारण सहभागी हुन पाइएन, मुलुकले जितोस्, जनताले जितोस्, यही कामना गर्दछु’, तामाङले भने ।

निर्वाचन आयोगले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि पटकपटक सार्वजनिक रुपमा गरेको अपिललाई वास्था नगर्दा पछुताउने मतदाताहरु उल्लेख्य देखिएका छन् ।
मौलिक अधिकारका रुपमा रहेको मतदानमा भाग लिनु नागरिकको कर्तव्य र दायित्व दुवै हो । तर आयोगले पटकपटक मतदाता नामावलीमा नाम दर्ता गराउन सार्वजनिक आह्वान गरे पनि विभिन्न कारणले गर्दा त्यस बखत नामावली दर्ता गर्न पाइएन भन्नुहुन्छ चितवनका सुप्रिया शर्मा ।

‘मतदानमा भाग लिन त मन थियो नि तर नामावलीमा नाम छैन, इच्छा भएरमात्र हुँदो रहेनछ, मतदाता नामावलीमा नाम हुनुपर्ने रहेछ’, शर्माले भने । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, भयरहित र धाँधलीरहित बनाउनका लागि यस पटकदेखि तस्बिरसहितको नामावली तयार पारेको हो । आयोगले मतदातालाई मतदाता परिचयपत्र वितरण पनि ग¥यो । तर नामावलीमा नाम नभएका मतदान गर्नबाट वञ्चित भए ।

विसं २०६४ को निर्वाचनमा मतदाता नमावलीमा नाम भएपछि मतदान गर्न पाइन्थ्यो, तर यस पटक तस्बिरसहितको नामावली अनिवार्य गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका, विभिन्न काममा व्यस्त भएका, सञ्चारकर्मीहरुले समेत यस पटक मतदानमा भाग लिन पाएका छैनन् । सरकारले कर्मचारीहरुका लागि समानुपातिक प्रणालीतर्फ मात्रै मतदानको व्यवस्था मिलाए पनि निजी सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले मतदानमा भाग लिन पाएका छैनन् ।

यस पटकको निर्वाचनमा कुल एक करोड २१ लाख ४७ हजार ८६५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । तीमध्ये महिला ६१ लाख ६६ हजार ८२९, पुरुष ५९ लाख ८० हजार ८८१ पुरुष र तेस्रो लिङ्गी १५५ रहेका छन् । निर्वाचन आयोगले पहिलो पटक ती मतदाताको तस्बिरसहितको विवरण र अस्थायी परिचयपत्र तयार गरेको थियो । अघिल्लो पटक एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकामा एक करोड आठ लाख ६६ हजार १३१ मत खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us