मतदानबाट वञ्चित चेपाङहरु

काठमाण्डु टुडे २०७० मंसिर २ गते १०:४३ मा प्रकाशित

chepang_village_peopleचितवन, २  मंसिर– अति सीमान्तकृत सूचीमा पर्ने चेपाङलाई छ महिना सहकाल र छ महिना अनिकालमा जीवन गुजार्नुपर्छ । चितवनका नौ पहाडी गाविसमा र जिल्लाका अन्य केही क्षेत्रमा उनीहरुको बसोबास रहेको छ । उनीहरुले जङ्गल फाँडेर बनाइएको खोरियामा मकै र कोदो रोपेर केही महिना खान्छन् भने केही समय जङ्गली कन्दमूलको भर पर्नु उनीहरुको बाध्यता हो । राज्यका र विभिन्न निकायका हरेक गतिविधिमा चेतनाकै अभावले अवसर नपाउने ती चेपाङले यो निर्वाचनमा पनि उस्तै पीडा भोग्नु परेको गुनासो गरेका छन् ।

चेतनाकै अभावमा चेपाङ समुदायमा ६० प्रतिशतले मतदाता नामावलीमा नाम लेखाएका छैनन् भने लेखाएकाको भोट पनि मतदाता शिक्षाको अभावले सदर हुनेमा आशङ्का देखिएको छ । जिल्लामा २०६८ सालको जनगणनाले ३२ हजार चेपाङ रहेको तथ्याङ्क देखाएको छ । तर स्थानीय सङ्घसंस्थाको अनुमानित तथ्याङ्क भने ४० हजार नाघेको छ । नेपालमा एक लाखभन्दा बढी चेपाङ रहेको तथ्याङ्क छ । चितवनमा भएका चेपाङमध्ये एक तिहाइले मात्रै मतदाता परिचयपत्र बनाएका छन् ।

चेपाङको गतिविधि नजिकबाट नियाँलिरहेका गामबेसी चेपाङ संरक्षण केन्द्र चितवनका अध्यक्ष केपीकिरण शर्मा सरकारी निकायले राम्ररी चेतना पु¥याउन नसकेको र फोटोसहितको मतदाता परिचयपत्र बनाउन ठाउँसम्म नपुगेकाले उनीहरु मतदान गर्नबाट वञ्चित भएको बताउछन् । उनले हालैमात्र चेपाङ मतदाताको तथ्याङ्क निकालेका छन् । जसअनुसार जिल्लामा ४० हजारमध्ये करिब २५ हजार चेपाङ १८ वर्ष माथिका छन् । अहिले जिल्लामा आठ हजार ५०० चेपाङको मात्रै फोटोसहितको मतदाता नामावली छ । करिब ६० प्रतिशत छुटेको उहाँको भनाइ छ । जसका कारण यसपालिको निर्वाचनमा नाम छुटेकाले अरूले मतदात गरेको हेरेर चित्त बुझाउनुपर्ने बाध्यता रहेको छ । चितवनको विकट पहाडी गाउँ भएकाले यातायात, शिक्षा, स्वास्थ्य र सञ्चार सबै कुराको अभाव छ चेपाङ गाउँमा ।

सिद्धिका स्थानीय चेपाङ दलबहादुर प्रजा चेपाङका लागि बेग्लै व्यवस्था नगरी अन्य समुदायसरह नै ठानेर काम गर्ने सरकारी कार्यशैलीले गर्दा उनीहरु हरेक अवसरबाट वञ्चित हुनु परिरहेको बताउछन् । चेपाङलाई घरघरमा पुगेर नसमेट्नुको परिणाम अहिले देखिएको उहाँको भनाइ छ । चेतना नै नपुगेका र सामान्यतया फोटो खिचाउन नरुचाउने चेपाङलाई अरूसरह एउटा निश्चित स्थानमा फोटो खिचाउने व्यवस्था गर्दा उनीहरु मतादाता सूचीबाट बाहिरिएको उनले बताए ।

चितवनमा गएको निर्वाचनमा भन्दा यसपटक मतदाता एक लाख आठ हजारले घटेका छन् । यहाँ अहिले दुई लाख ७३ हजार ८०३ मतदाता रहेका छन् । जिल्लाको क्षेत्र नं १ र २ मा बढी चेपाङ छन् । नामावलीमा नाम नभएका निराश भए पनि भएकाहरुमा भने छुट्टै उत्साह र अपेक्षा रहेको पाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us