
खार्तुम, २ मंसिर– सुडानको डार्फर क्षेत्रमा मेस्सीरिया र सलामत आदिवासी समूदायबीच भएको झडपमा कम्तीमा एकसय भन्दा बढी व्यक्तिको मृत्यु भएको सुडान रेडियोका अधिकारीहरूले जनाएका छन् ।
मध्य डाफर राज्यको एक डोक्होन क्षेत्रमा मेस्सीरिया र सलमातका आदिवासीबीच भएको झडपमा करिब एकसय व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएको एक रेडियोमार्फत प्रशारण हुने मोबाइल समाचार सेवाले जनाएको छ । प्रहरी र स्थानीय अधिकारीको प्रयासबाट उक्त झडप नियन्त्रणमा लिइएको जनाइएको छ ।
झडपबाट के कति क्षति भयो सो मूल्याङ्कन सुरु भएको पनि जनाइएको छ । यी दुई आदिवासी समुदायबीच गत जुन र जुलाईमा भएको यस्तै झडपमा कम्तीमा १३६ जनाको मृत्यु भएको थियो । मध्य डार्फर क्षेत्रमा भएको यस तनावको कारण करिब चार हजार व्यक्ति आफ्नो घर छोडी भागेका बताइएको छ । सिन्ह्वा