चीनमा अब दुई सन्तान जन्माउन पाइने

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १३:४६ मा प्रकाशित

बेइजिङ, २९ कात्तिक– चीनले आफ्नो विवादास्पद् ‘एक शिशु’ तथा ‘श्रम शिविर’ को नीतिलाई सरल बनाउने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरूको बैठक सम्पन्न भएको केही दिनपछि चिनियाँ नीतिमा परिवर्तन हुने घोषणा गरिएको हो ।

चिनियाँ परिवार नियोजनको नीतिमा परिवर्तन गरी आमाबाबुमध्ये एक उनीहरूका पनि आमाबाबुका एक मात्र सन्तान भएको अवस्थामा दम्पत्तिलाई दुई शिशु प्राप्त गर्न अनुमति दिइने व्यवस्था गरिने भएको छ । यो निर्णय यसै साता कम्युनिस्ट पार्टीको तेस्रो पूर्णबैठक (थर्ड प्लेनम) मा नेताहरूले गरेको बताइएको छ ।

चीनमा एक शिशुको नीति सन् १९७० मा त्यहाँको बृहत् जनसङ्ख्या नियन्त्रण गर्न लागू गरिएको हो । चीन विश्वको सबैभन्दा अधिक जनसङ्ख्यायुक्त मुलुक हो र यहाँ यो नीति कडाइका साथ लागू भएको थियो । यस कानुनले अझै पनि एक शिशु भएका प्राय दम्पतीलाई थप शिशु प्राप्त गर्न रोक्छ ।

चीनमा जनसङ्ख्याको दीर्घकालीन सन्तुलित विकास प्रवद्र्धन गर्न चरणवद्ध रूपमा जन्मको नीतिमा परिवर्तन गरिने सिन्ह्वाको समाचारमा उल्लेख गरिएको छ । परिवार नियोजनको कानुनलाई सरल बनाउन निकै आग्रह गरिए पनि चिनियाँ अधिकारीहरूले अति जनसङ्ख्याले चीनको विकासलाई चुनौती दिने भएकाले यो नीति अझै आवश्यक भएको बताएका छन् ।

मुद्धा नचलाइ श्रम शिविरमा पठाइने

यसैगरी चीनमा मुद्दा नचलाइकन आरोपितलाई श्रम शिविरमा राखी श्रमको माध्यमबाट पुनः शिक्षा दिने गरी प्रहरीलाई प्राप्त विवादास्पद अधिकार हटाइने भएको पनि उल्लेख गरेको छ ।

मानव अधिकार तथा न्यायिक अभ्यासमा सुधार गर्ने प्रयास स्वरूप यो पाइला चालिएको र यो निर्णय पनि तेस्रो पूर्ण बैठकबाटै लिइएको बताइएको छ । चीनमा यस्तो अति अलोकप्रिय श्रम नीतिलाई ‘लाओजियाओ’ भनिन्छ र सानातिना अपराधमा आरोपित व्यक्तिमाथि यो नीति उपयोग गरिन्छ । भ्रष्ट अधिकारीहरूले उनीहरूका बारेमा सूचना दिने व्यक्ति वा उच्च अधिकारीसमक्ष गुनासो गर्ने व्यक्तिलाई यस प्रकारको श्रम शिविरमा पीडा दिई यसको दुरूपयोग गरेको भनी आरोप लगाउने गरिन्छ ।

यस नीतिमा प्रहरीको एक समूहले आरोपित व्यक्तिलाई अदालतमा उपस्थित नगरी चार वर्षसम्मको पुनः शिक्षाका श्रम शिविरमा पठाउनसक्छ । सानातिना अपराधलाई छिटो समाधान गर्ने उद्देश्यले सन् १९५९ मा यो कानुन लागू भएको हो । सन् २००९ मा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा करिब एक लाख ९० हजार चिनियाँ जनता यस्तो शिविरमा रहेको जानकारी दिइएको थियो । रासस/एएफपी/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us