मुस्ताङमा चिसोः मतदाता तल झरे, कर्मचारी माथि लागे

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १५:४२ मा प्रकाशित

upper-mustang-मुस्ताङ, २९ कात्तिक– हिमालपारिको जिल्ला मुस्ताङका मतदाता न्यानो खोज्न पहाडतिर झर्न थालेका छन् भने निर्वाचन गराउन खटिएका कर्मचारी भने सामग्री बोकेर उपल्लो मुस्ताङतर्फ लागेका छन् ।

एकसाता यता मुस्ताङमा निरन्तरको हिमपातसँगै चिसो बढेपछि उपल्लो मुस्ताङका धेरै मतदाता पहाडी क्षेत्र र सहर पसेका छन् भने उपल्लो मुस्ताङका लागि निर्वाचन गराउन खटिएका कर्मचारी निर्वाचन सामग्री बोकेर दुई दिन पहिलेदेखि माथि लागेका छन् । उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ, छोन्हुप, छोसेर, सुर्खाङ, घमी र चराङ गाविसमा खटिएका कर्मचारी मङ्गलबारदेखि निर्वाचन गराउन खटिएका छन् ।

उनीहरुलाई सामग्रीसहित निर्वाचन गराउन पठाइएको जिल्ला निर्र्वाचन कार्यालय मुस्ताङका जिल्ला निर्वाचन अधिकारी देवी सुवेदीले बताए । ‘विकट र चिसो बढेका कारण समस्या नहोस् भनेर समयमा नै कर्मचारी खटाएका छौँ’ उनले भने । जिल्ला निर्वाचन कार्यालयबाट चुनाव गराउन गाउँ पसेका बेला मतदाता भने धमाधम बाहिरिएका छन् । एक साता पहिलेदेखि चिसो बढेपछि गाउँमा रहेका राजनीतिक दलका कार्यकर्ता, वृद्धवृद्धा र भेडीगोठ कुरेर बस्नेबाहेक तल झर्ने क्रम रोकिएको छैन । माथिल्लो मुस्ताङका छ गाविसका बासिन्दाहरु चिसो छल्न र व्यापार गर्न असोजदेखि नै म्याग्दी, पर्वत, बागलुङ, पोखरा र तराई हुँदै कतिपय भारत पस्ने गरेका छन् ।

अहिले त्यस क्षेत्रका करिब ६५ प्रतिशत मतदाता मात्रै रहेको अनुमान छ । ‘पहिलेदेखि नै मतदाता झर्ने क्रम चलेको हो’ जिल्ला निर्वाचन अधिकारी सुवेदीले भने, ‘अहिले पनि केही मतदाता गाउँ छाडेको अनुमान छ ।’ कार्यालयका अनुसार लोमान्थाङ गाविसमा जम्मा ३९५, छोसेरमा ४६०, छोन्हुपमा ४८०, सुर्खाङमा २७६, चराङमा ३८७ र घमीमा ४५२ जना गरी जम्मा दुई हजार ४४० मतदाता रहेका छन् ।

माथिल्लो मुस्ताङबाट तल झरेका मतदाता फर्काउने दलको पक्षमा नै निर्वाचन परिणाम जाने अनुमान गरिँदै आएको छ । तर लगातारको बन्दका कारण दलहरुले मतदाता फर्काउने प्रयास गर्न सकेका छैनन् । केही दिनयताको चिसो नहटेपनि निर्वाचन कार्यक्रम सुचारु हुने मुस्ताङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दयाराम ढकाल बताउछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us