सुरक्षाकर्मीको स्कटिङमा कर्मचारी मतदान केन्द्रमा

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १०:५९ मा प्रकाशित

myagdi-bus-electionप्यूठान, २९ कात्तिक– आगामी मंगलबार हुने संविधानसभा निर्वाचनका लागि प्यूठान जिल्लामा कर्मचारी र सुरक्षाकर्मीको टोली सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालय प्यूठानले विहीबारदेखि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु खटाउने कार्य सुरु गरेको हो ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुरक्षा व्यवस्था सहित मतदान सामग्रीहरु दिएर आ–आफ्नै मतदान केन्द्रमा खटाएको हो । निर्वाचन बहिष्कार गरिरहेका नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यको गृह जिल्ला भएकोले र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको बन्दका कारण सवारी साधन नचेलेपछि सम्बन्धित मतदान केन्द्रहरुमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई शुक्रबार जिल्लास्थित सुरक्षा निकायले स्कटिङमा सम्बन्धित केन्द्रसम्म पुर्‍याएको हो ।

निर्वाचनमा खटिने कर्मचारीलाई बस रिजर्व गरेर प्रहरी र सेनाको स्कटिङमा सम्वन्धित स्थानमा पुर्‍याइएको हो । खटिएका कर्मचारीले मतदाता परिचय पत्रको वितरण, निर्वाचन गराउने लगायत निर्वाचन सम्पन्न गरी मतपेटिका जिल्ला सदरमुकाम खलंगा ल्याउने सम्मको जिम्मा पाएका छन् ।

यस कार्यका लागि निजामति कर्मचारी र शिक्षकहरुको व्यवस्था गरिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको प्यूठान जिल्लामा एक लाख ६ हजार ४ सय ३३ मतदाता छन भने निर्वाचनमा एक स्वतन्त्र गरी २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रहरी नायव उपरीक्षक ईश्वर कार्कीले बन्दको समयमा सम्भाव्य घटना हुन नदिन जिल्लाका बजार र ग्रामिण क्षेत्रसहित विभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था मिलाएको जानकारी गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us