मधुमेहको खतरनाक असर आँखामा

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ९:०१ मा प्रकाशित

eyeकाठमाडौँ, २८ कात्तिक । आँखामा कुनै समस्या नभए पनि नियमित परीक्षण गराउन आँखा विशेषज्ञहरुले आग्रह गरेका छन् । विश्व मधुमेह दिवस २०१३ को सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा आयोजित ‘मधुमेहले आँखामा पार्ने असर र आँखा स्वास्थ्य शिक्षा’ विषयक अन्तत्र्रिmयामा आँखा विशेषज्ञहरुले आँखामा समस्या नभए पनि कम्तीमा वर्षमा एक पटक आँखा परीक्षण गराउनुपर्ने सल्लाह दिएका छन् ।

नेत्र रोग तथा रेटिना विशेषज्ञ डा रभा थापाले भने, ‘मधुमेहले आँखामा धेरै नै असर गरिसकेपछि मात्र बिरामी अस्पताल आउने गरेको पाइन्छ, त्यस्तो अवस्थामा राम्रो दृष्टि जोगाउन सकिँदैन ।’ शरीरको प्यानक्रियाजबाट निस्कने इन्सुलिन नामको ग्रन्थीरसको कमी भएर वा यसले गर्नुपर्ने काममा रोकावट आएर रगतमा ग्लुकोजको मात्र बढ्नुलाई मधुमेह भनिन्छ ।

डा. थापाले मधुमेहले शरीरका महत्वपूर्ण अङ्ग जस्तै स्नायु, मिर्गौलाका साथै आँखामा विभिन्न जटिल समस्या निम्त्याउने र मुख्यत आँखाको पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने बताए । मधुमेहले पटक पटक आँखामा आनो आउने, आँखा सुख्खा हुने, छिटोछिटो चश्माको पावर परिवर्तन हुने, मोतिबिन्दु छिटो देखापर्ने जलबिन्दुको सम्भावना बढी हुनेलगायत आँखाको पर्दामा गम्भीर असर पार्ने र जसले अन्त्यमा मानिसलाई दृष्टिविहीन पनि बनाउन सक्ने डा.थापाको भनाइ थियो । एक तथ्याङ्कअनुसार संसारका ४.८ प्रतिशत अन्धोपना मधुमेहकै कारण हुने गरेको थापाले बताए ।

मधुमेह रोग विषेशज्ञ डा. ज्योति भट्टराईले मधुमेहका बिरामीमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिने र आँखामा हुने समस्यामध्ये डाइबेटिज रेटिनोपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण भएको जानकारी दिए । पोषण विशेषज्ञ रश्मी वजिमय श्रेष्ठले मधुमेहका बिरामीले रगतमा चिनी, चिल्लो पदार्थको मात्रा र उच्चरक्तचाप सधैँ नियन्त्रणमा राख्नुका साथै धुम्रपानबाट टाढा रहन सुझाव दिनुभयो ।

तिलगङ्गा आँखा प्रतिष्ठान, भिटिरियो रेटिनल विभागका प्रमुख डा गोविन्द पौड्यालले विश्व मधुमेह दिवसको अवसरमा प्रतिष्ठानले मधुमेहले आँखामा पार्ने असरसम्बन्धी जनचेतनामूलक कार्यक्रम र निःशुल्क आँखा परीक्षणका साथ गत आइतबारदेखि सप्ताहव्यापी कार्यक्रमसमेत गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us