जेनेभा–संयुक्त राष्ट्र सङ्घको निकाय विश्व जलवायु विज्ञान सङ्गठनले सन् २०१३ मा समुद्रको सतह हालसम्मकै सबैभन्दा माथि पुगेको बताएको छ । यसले नजिक रहेका तटीय क्षेत्रलाई ‘सुपर टाइफुन हेयान’ जस्ता खराब मौसमी प्रभावले थप सताएको उसले जनाएको छ ।
पृथ्वीको मौसमसम्बन्धी एक अन्तरिम प्रतिवेदनमा यस संस्थाले सन् २०१३ जलवायु सम्बन्धी तथ्याङ्क राख्न आरम्भ भएदेखि हालसम्मको सबैभन्दा बढी तापक्रमयुक्त वर्ष बन्ने अवस्थामा रहेको उल्लेख गरिएको छ ।
सङ्गठनका प्रमुख मिसेल जेराडले हाल फिलिपिन्स हेयान चक्रवातको व्यापक क्षतिबाट बाहिर आउन नसकिरहेको र यो चक्रवात हालसम्म तथ्याङ्क राखिएको चक्रवातमा सबैभन्दा जटिल भएको देखिएको बताए ।
गत साता गएको यस चक्रवातका कारण यस मुलुकमा कम्तीमा १० हजार जनताको ज्यान गएको अनुमान गरिएको छ ।
उनले फिलिपिन्स सन् २०१२ मा गएको बोफा चक्रवातको प्रभावबाट अझै मुक्त हुननसकेको बताए । उक्त चक्रवातका कारण दुई हजार व्यक्तिको मृत्य ुभएको वा हराएको अनुमान गरिएको थियो ।
उनले मौसम परिवर्तनलाई यी चक्रवातसँग प्रत्यक्षरूपमा आवद्ध गर्न नसकिए पनि समुद्रको सतह बढ्दा तटीय क्षेत्रमा रहेका जनताले सामुद्रिक आँधी अझै बढी भोग्नुपर्ने बताए ।
विशेषज्ञहरूले मौसम परिवर्तन र भूमध्यसागरीय चक्रवातसँग प्रत्यक्ष सम्बन्धका विषयमा अझै प्रश्न गर्न सकिने बताएका छन् ।
केहीले पृथ्वीको तापक्रम बढ्दा यस्ता घटनाहरू अझै क्षतिकारक र बढी सङ्ख्यामा देखिनसक्ने धारणा व्यक्त गरेका छन् ।
डब्लुएमओको प्रतिवेदनमा पृथ्वीमा समुद्रको सतह सन् २०१३ को मार्चमा सबैभन्दा माथि पुगेको उल्लेख गरेको छ ।
बीसौँ शताब्दीमा समुद्रको सतह प्रतिवर्ष १.६ मिलिमिटरले बढिरहेकोमा हाल ३.२ मिलिमिटरले बढीरहेको प्रतिवेदनमा बताइएको छ ।
यसैगरी सन् २०१२ मा हरितगृह ग्यासको मात्रा प्रति दश लाखमा ३९३.१ मा पुगेको र यो हालसम्मको सबैभन्दा अधिक रहेको यस संस्थाले उल्लेख गरेको छ । रासस/एएफपी