बन्दमा ५१ घटना, २९ जना नियन्त्रणमा

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १७:१७ मा प्रकाशित

काठमाण्डु– गृहमन्त्रालयले सुरक्षाकर्मीहरूको सघन परिचालन तथा उद्यमी व्यावसायीलगायत सर्वसाधारणको स्वतःस्फूर्त बन्दप्रतिको अवज्ञा गरेकाले निर्वाचन विरोधी केही राजनीतिक दलहरूद्वारा घोषित बन्दको प्रभाव नपरेको दावी गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकभर उद्योगधन्दा, कलकारखाना, बजार, यातायातलगायत सार्वजनिक सेवाहरू सुचारु रहेको र जनजीवन सामान्य भएको उल्लेख गरिएको छ ।
बन्दकर्ताबाट चितवन, सर्लाही, नवलपरासी, लमजुङ, गोरखा, काठमाण्डु, स्याङ्जा, उदयपुर, कैलाली र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न १४ स्थानमा सवारी साधनमाथि लुकिछिपि तोडफोड एवम् आगजनी गरिएको गृहले जनाएको छ ।
मुलुकभर विभिन्न स्थानमा गरी ५१ वटा घटनाहरू घट्न गएको र उक्त घटनाहरूमा सम्लग्न २९ जनालाई कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाण्डुको गोंगबुमा यात्रुसहित माइक्रोबसमा पेट्रोल बम प्रहार गर्दा एक बालकसहित नौजना यात्रु घाइते भएको र घाइतेहरूको उपचारका लागि स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको गृहले उल्लेख गरेको छ ।
मुलुकका विभिन्न जिल्लाहरू र कञ्चनपुरमा विष्फोटक पदार्थ विष्फोटन गराएकोमा त्यसको गम्भीर अनुसन्धान जारी रहेको गृहले जनाएको छ । विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तुहरू फेला परेकामा त्यस्ता वस्तुहरूलाई नेपाली सेनाबाट निष्क्रिय पारिएको पनि मन्त्रालयले जनाइएको छ ।
गृहले यात्रुवाहक सार्वजनिक सवारीसाधनमा आगजनी गर्ने तथा व्यक्तिलाई लक्षित गरी बम विष्फोट गरिएका अमानवीय घटनाको भन्र्सना गर्दै त्यस्ता घटनामा संलग्नलाई कानुनको दायराभित्र लिई कडा कारबाही गर्नेतर्फ अनुसन्धान भइरहेको व्यहोरासमेत जनाएको छ ।Madhab-Ghimire

गृहमन्त्री माधव घिमिरेले संविधानसभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध भइरहेको बताउँदै मतदातालाई ढुक्कसँग मतदानस्थलमा पुगी मतदान गर्न आह्वान गरे । उनले भने “सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलिरहित रूपमा सम्पन्न गर्न सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी राखेको छैन, यसमा कसैसँग कुनै प्रकारका सम्झौता पनि गर्दैन ।”

६० जिल्लामा परिचालित सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरी बलले संविधानसभा निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न आफ्नो सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यलायबाट प्रत्यक्ष भिडियो स्ट्रीमिङमार्फत पाँचै विकास क्षेत्रस्थित क्षेत्रीय निर्वाचन सेलबाट जानकारी लिएपछि सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले द्विविधासहित ढङ्गले जिम्मेवारी निर्वाहमा क्रियाशील रहन तथा सम्पूर्ण गतिविधि सुरक्षामा केन्द्रित गर्न निर्देशन दिएका हुन ।
“तपाइँहरू तोकिएको जिम्मेवारी निर्वाहमा उच्च मनोवलका साथ प्रतिबद्ध रहनुहोस्” निर्देशका क्रममा उनले भने,“तपाइँ एक्लै होइन, सिङ्गो संगठन, नेतृत्व र सरकार तपाइँहरूको पक्षमा रहने छ ।”
उनले अन्य सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय जनतासँग राम्रो समन्वय गरेर कार्य गर्न समेत मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।
सशस्त्र प्रहरी बल निर्वाचनको बेला आफू तैनाथ जिल्लाको अतिरिक्त सम्वेदनशील तथा अतिसम्वेदनशील क्षेत्रहरू समेत गरी ६० भन्दा बढी जिल्लामा परिचालित छ ।

 

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us