श्रीलङ्काद्वारा तमिल प्रदर्शकारीहरुलाई रोक

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:३३ मा प्रकाशित

कोलम्बो, २७ कात्तिक– श्रीलङ्काको सेनाले राष्ट्रमण्डलीय शिखर बैठक आरम्भ हुनुअगाडि बुधबार तमिल प्रदर्शनकारीहरुलाई राजधानी प्रवेश गर्न रोकेको छ र बेलायती टेलिभिजन पत्रकारहरुले पनि यस मुलुकको अन्य भागमा यात्रा गर्न समस्या भोगेका छन् ।

रोमन क्याथोलिक पादरी एमानुएल सेबामालीले अल्पसङ्ख्यक तमिललाई राजधानी आउने व्यवस्था गरिदिएका थिए र उनले प्रहरीले उनीहरुको बस रोकिदिएको र सेनाले उनीहरुलाई फिर्ता जान बाध्य बनाएको बताए । उनले यी तमिललाई कोलम्बो आउन नदिनुको कारण पनि सेनाले नदिएको उल्लेख गरे ।

राष्ट्रमण्डलीय सरकार प्रमुखहरुको बैठक शुक्रबारदेखि आरम्भ हुँदैछ र हालसम्म मौरिसस, भारत तथा क्यानडाका प्रधानमन्त्रीले यस बैठकमा भाग नलिने देखिएको छ । यसबीच ५३ सदस्यीय राष्ट्रमण्डलका केही सदस्य तथा मानव अधिकारवादी समूहले यस मुलुकमा मानवअधिकारको अवस्थाका विषयमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

श्रीलङ्कामा दशकौँसम्म चलेको तमिल पृथकतावादी युद्ध सन् २००९ मा अन्त्य भएको थियो र त्यसमा आफन्त गुमाएका हजारौँ जनताको अवस्थाप्रति बैठकको ध्यान तान्न करिब दुई सय तमिल कोलम्बोतर्फ आउँदै गरेको सेबामालीले बताए । सरकारको अन्तिम कारवाहीमा युद्ध अपराध भएको, आत्मसमर्पण गर्ने विद्रोहीको श्रीलङ्काली सेनाले हत्या गरेको र अस्पतालमा बम प्रहार गरेको आरोप लगाइएको छ ।

तमिल प्रदर्शनकारीलाई फर्काइएको विषयमा प्रहरी तथा सेनाबाट कुनै टिप्पणी आएको छैन तर आमसञ्चारमन्त्री केहेलिया रामबुकवेलाले शान्ति भङ्ग हुने ठानी कोलम्बोले उनीहरुको यात्रा रोकेको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us