निमोनिया : ख्याल गरे निको, नत्र निधन

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १५:२० मा प्रकाशित

babyकाठमाण्डु– चितवनमा पाँच वर्षमुनिका प्रति हजार ७६४ जना बालबालिकालाई  श्वास प्रश्वासको सङ्क्रमण हुने गरेको छ । तीमध्ये ३४.८ प्रतिशतलाई निमोनिया हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जटिल खालका निमोनिया रोगबाट भने १.१२ प्रतिशत बालबालिका गम्भीर बिरामी पर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले तथ्याङ्क सार्वजनिक गरेको छ ।

विश्व निमोनिया दिवसको अवसरमा जनस्वास्थ्य कार्यालयद्वारा चितवनमा आयोजना भएको कार्यक्रममा श्वास प्रश्वासको सङ्क्रमण भएका आधिकांशलाई भने कुनै न कुनै प्रकारको निमोनिया हुने गरेको चिकित्सकहरु बताउँछन् ।

चितवनका अस्पतालमा आएका बिरामी बालबालिकामध्ये आधाजसो बालकालिकालाई निमोनिया हुने गरेको चितवनको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा नारायण थापाले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक दुर्गादत्त चापागाईंले पाँच वर्षमुनिका बालबालिकाको मृत्युको कारण मुख्यगरी निमोनिया भएकाले बालबालिकालाई निमोनियाबाट जोगाउनुपर्ने बताए ।

निमोनिया रोग रोकथामका लागि थप विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि आफ्नो नियमित खोप कार्यक्रममा निमोककल खोपलाई समावेश गरी सो खोप लगाउने जानकारी दिएको छ ।

विश्व निमोनिया दिवसका अवसरमा मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाद्वारा मंगलवार आयोजित कार्यक्रममा खोप कार्यक्रममा निमोककल खोप समावेश गराइएको र बालस्वास्थ्यका लागि थप अन्य कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो ।

निमोनियालाई विश्वमा नै बालमृत्युको प्रमुख कारकतत्वका रुपमा लिइन्छ । स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा प्रतिवर्ष पाँचवर्ष मुनिका ३५ हजार बालबालिकाको मृत्यु हुने गर्दछ । तीमध्ये पाँचहजार ६०० बालबालिका सोही रोगका कारण आफ्नो मृत्युवरण गर्न पुग्दछन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये विश्वमा करिब १६ लाख बच्चाको निमोनियाका कारण मृत्यु हुने गरेको छ ।
फोक्सोमा हुने शीघ्र सङ्क्रमणबाट सो रोग लाग्छ । रोगका कारण बालबालिका छिटोछिटो सास फेर्ने र छटपटाउने गर्दछन् । बालबालिकाले छिटोछिटो (एक मिनेटमा ५० पटकभन्दा बढी) श्वास फेरेमा, कोखा हानेमा, बालबालिकाले झोल कुरा खान नसकेमा, आमाको दूध चुस्न नसकेमा, दुई महिनामुनिका बच्चालाई ज्वरो आएमा निमोनिया रोगको लक्षण हुने कार्यक्रममा जानकारी दिइयो ।

चिकित्सकका अनुसार  खोकी लाग्ने, ज्वरो आई रुघा लाग्ने, कोखा हान्ने, छिटो श्वास फेर्ने, खान पिउन नसक्ने र श्वास फेर्दा अस्वभाविक आवाज आउने भएमा निमोनिया हुनसक्ने भएकाले तत्कालै  स्वस्थ्य संस्था लैजानुपर्छ । सुरुसुरुमा निमोनिया उपचारमा सहज भए पनि उपचार ढिलाइ भएमा मृत्युसमेत हुने भएकाले स्तनपान, पोषिलो खानेकुरा  खुवाउनु पर्ने र धुलो, धुवाँबाट जोगाइ सरसफाइमा ध्यान दिनुपर्ने बालरोग विशेषज्ञ डा नारायण थापाले बताए ।
मन्त्रालयले हाल निमोनिया रोगथामका लागि हेमोफिलस इन्फुलएन्जा बी, दादुरा र लहरे खोकी (हुपिङ् कफ) को खोप नियमित कार्यक्रममा समावेश गराई निमोनिया रोकथाम गर्ने अभियान सञ्चालन गर्दैआएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक प्रा डा लखनलाल साहले निमोनिया रोकथामका लागि निमोककल खोप कार्यक्रम नियमित खोप कार्यक्रममा समावेश गर्न लागिएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले आह्वान गरेअनरुुप “निमोनियाबिरुद्ध लडौँ, बालबालिका बचाआँै” भन्ने नाराका साथ विश्व निमोनिया दिवस मन्त्रालयले विविध कार्यक्रम आयोजना गरी मनाएको थियो ।

महानिर्देशक डा साहले बाल स्वास्थ्य क्षेत्रको सहश्राब्दी विकास लक्ष्य पूरा गर्न निमोनिया रोगबाट हुने बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

बालस्वास्थ्य महाशाखाका निर्देशक डा सेनेन्द्रराज उप्रेतीले निमोनिया रोगथामका लागि खोप लगाउन, पर्याप्त पोषिलो र झोलिलो खाना बालबालिकालाई खुवाउन, बच्चा जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तपान गराउन, घरभित्रको वातावरणीय सुरक्षा खासगरी धुँवा, धुलोबाट बालबालिकालाई जोगाउन र नवजात शिशुलाई छुँदा साबुन पानीले हातधुन आवश्यक रहेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us