बस दुर्घटनामा २९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ७:०१ मा प्रकाशित

जोहानेस्बर्ग, २६ कात्तिक–दक्षिण अफ्रिकामा भएको बस दुर्घटनामा परी कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परेका अरु ११ जना गम्भीर रुपमा घाइते भएका छन । सरकारी प्रवक्ताले उक्त बस दुर्घटना भएको क्षेत्र अत्यन्तै अप्ठेरो र बाटो पनि निकै साँघुरो र अप्ठेरो रहेको जानकारी दिए ।
दक्षिण अफ्रिकाको एम्पुमालाङ्गा प्रान्तमा सोमबार साँझ सो दुर्घटना भएको थियो । सो प्रान्तको सडक सुरक्षा विभागका प्रवक्ता जोसेफ माबुजाले मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि २९ पुगेको जानकारी दिए ।
प्रिटोरिया सहरबाट करिब १०० किलोमीटर पूर्वमा पर्ने क्वागाफान्सियन नामक नगरमा सो घटना भएको थियो । सो दुर्घटनामा घाइते भएका तीनजना यात्रुको अस्पतालमा मुत्यु भएको थियो । त्यसैगरी सो अस्पतालमा रहेका घाइतेमध्ये आठ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ ।
उक्त बस प्रिटोरिया सहरबाट जाँदै गरेको थियो । उक्त बस विपरीत दिशाबाट आएको मालबाहक ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
प्रवक्ता जोसेफले सो दुर्घटना निकै भयानक रहेको बताएका छन । सो दुर्घटनामा परेका ट्रक तथा बसका चालकहरु पनि जीवितै रहे नरहेको जानकारी प्राप्त हुन सकिरहेको छैन ।
प्रिटोरियाको नजिकका अरु सहरबाट दैनिक करिब ५० हजार व्यक्ति प्रिटोरियामा नै कार्यालय जाने गर्दछन् । सो अवसरमा उनीहरुले दैनिक करिब ६३५ वटा सवारीसाधन प्रयोग गर्ने गरेका छन् ।
ती सहरबाट आउने सडक सवारी ठूलो सङ्ख्यामा नै दुर्घटनामा पर्ने गर्दछन् । त्यहाँ लगभग दिनहूँजसो नै दुर्घटना पर्ने गर्दछ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us