मतदाता परिचयपत्र अनिवार्य नबनाउने आयोगको निचोड

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ६:०६ मा प्रकाशित

सबै मतदाताको हात हातमा परिचयपत्र पुर्‍याउन नसक्ने भएपछि, निर्वाचन आयोगले भोट हाल्नको लागि मतदाता परिचयपत्रलाई अनिवार्य नगर्ने बताएको छ।

परिचयपत्र अनिवार्य नहुँदा फर्जी मत खस्न सक्ने भन्दै कतिपयले आशंका गरिरहेका बेला त्यस्तो सम्भावना नरहे‌को आयोगको भनाई छ।

दुई वर्षभन्दा बढी समयदेखि तामझामका साथ फोटो सहितको मतदाता परिचयपत्रको तयारी गरिएको भए पनि सबै मतदाताका हातमा परिचयपत्र पुग्न नसक्ने आँकलन गरिएको छ।

यस्तो अवस्थामा अघिल्लो निर्वाचनमा झैं यसपटक पनि भोट हाल्नको लागि परिचयपत्रलाई अनिवार्य नगरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।

आयोगले सकेसम्म धेरै मतदाताकहाँ परिचयपत्र पुर्‍याउने र कारणवश परिचयपत्र नापाएकाहरुले नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत सरकारी निकायले जारी गरेका फोटो सहितको प्रमाण देखाएर भोट हाल्न सकिने बताएको छ।

आयोगका प्रवक्ता वीरबहादुर राईले भने, “पहिला त हामी जिल्ला सदरमुकाममा जिल्ला निर्वाचन आयोगले तोकेको सरकारी भवनबाट मंसिर दुई गते सम्म परिचयपत्र वितरण गर्छौं। तर गाविस र नगरपालिकामा भने तीन गतेसम्म वितरण हुन्छ।”

मतदाता परिचयपत्रलाई अनिवार्य नगरिएपछि अघिल्लो संविधानसभाको निर्वाचनमा झैं फर्जी मत खस्न सक्ने कतिपयले आशंका गरेका छन्।

तर यस्तो सम्भावना नरहेको दावी गर्दै प्रवक्ता राईले भने, “मतदान स्थलमा राखिएको मतदाता नामावलीमा भोट हाल्ने मान्छेको रङ्गिन फोटो सहितको विवरण हुन्छ। त्यसैले एउटाको नाममा अर्कैले भोट हाल्ने सम्भावना छैन।”

विगतमा मिलोमतोमा त्यस्ता फर्जी मतहरु खस्ने गरेको भए पनि यस पटक कुनै पनि हालतमा त्यस्तो हुने नदिने उनले दावी गरे। Source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us