प्यूठानमा चुनावी माहोलसँगै जोड घटाउ शुरु

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ४:०२ मा प्रकाशित

प्युठान, २६ कात्तिक– ४ मंसिरमा हुने संविधानसभा दोस्रो निर्वाचनका लागि प्यूठानमा उम्मेदवारको चर्चा परिचर्चासँगै चुनावी माहोल तातेको छ । चोक चोकमा चुनाव कसले जित्ला भनेर छलफल पनि निकै हुन थालेको छ । चुनाव हुँदैन कि भन्ने भ्रमलाई चिर्दै निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु¥याएपछि उम्मेदवारहरु घरदैलो अभियानमा सकृय छन् । जिल्लाका विभिन्न दल र स्वतन्त्र गरी २० उम्मेदवार २ वटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी रहेका छन् । सँधैको चुनाबमा भन्दा यसपटक उम्मेदवारहरु फरक शैलीमा प्रचारप्रसारमा लागि परेका छन् । उम्मेदवारको प्रचार प्रसारमा आचारसंहिताको उल्लंघन भए पनि निर्बाचन कार्यालयले कुनै कारबाही गर्न सकेको छैन भने ठूलै दलका नेताहरुले समेत आचारसंहिताको उल्लंघन गरिरहेका भए पनि सुनुवाई भएको छैन । प्यूठानमा रहेका २ निर्बाचन क्षेत्रमा चुनाबी प्रतिस्पर्धामा एमाओवादी, कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चा अगाडि रहेका छन् ।

निर्बाचन क्षेत्र नं १ मा कांग्रेस, एमाले, एमाओवादी र राष्ट्रिय जनमोर्चाबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ । यसभन्दा अघि यो क्षेत्रबाट एमाओबादीका नारायण अधिकारीले विजय हात पार्नुभएको थियो भने राष्ट्रिय जनमोर्चा दोस्रो, एमाले तेस्रो भएका थिए । यहाँबाट ९ दलले चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्यूठानमा एमाओवादी, कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चा बीचको प्रतिस्पर्धा नै मुख्य रुपमा रहेको छ भने अन्य साना दलको निर्बाचनमा सहभागिता रहे पनि विजय हुने अबस्था भने नरहेको नागरिक समाजका अगुवाहरु बताउँछन् ।

जिल्लाको निर्बाचन क्षेत्र नं १ मा एमाओवादीबाट २०६४ सालको चुनावमा विजयी नारायण अधिकारी नेकपा–माओबादीमा लागेकोले क्षेत्र नम्बर एकमा माओबादीको फुटका कारण पछि पर्ने आकंलन छ । क्षेत्र नं १ मा काग्रेसका हुकुम बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका कृष्ण बहादुर खड्का र एमालेका उपाध्यक्ष बामदेव गौतम बीच प्रतिस्पर्धा हुने सबैको ठम्याई छ ।

क्षेत्र नं २ मा एमाओवादीबाट कृष्णध्वज खड्का, कांग्रेसबाट धनलक्ष्मी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट बोमबहादुर खत्री र एमालेबाट हिरा बहादुर के.सी. मुख्य प्रतिस्पर्धी रहेका छन् । यसअघि एमाओबादीका दिपक बहादुर के.सीले चुनाब जितेका थिए भने अहिले उनी पनि नेकपा–माओवादी पक्षधर छन् ।

यो क्षेत्रमा राप्रपा नेपाल, संघीय समाजवादी, अखण्ड नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा माले, शिव सेना नेपाल पनि निर्वाचनमा सहभागी भएका छन् । कुल १ लाख ६ हजार ४ सय ३३ मतदाता संख्या रहेको प्यूठानमा २० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us