दोहोरो चेपुवामा परेको यातायात व्यवसायीको गुनासो

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १६:५३ मा प्रकाशित

काठमाण्डु–यातायात व्यवसायीहरुले बन्दको क्रममा सरकार र आन्दोलनकारी दलको दोहोरो चेपुवामा आफूहरु परेको गुनासो गरेका छन् ।
नेकपा–माओवादी कार्यालय बुद्धनगरमा पार्टीका महासचिव रामबहादुर थापालाई भेटी बन्दका कारण आफूहरु दोहोरो मारमा परेको बताएका हुन् ।
भेटपछि यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यबाहक अध्यक्ष विजयबहादुर स्वाँरले सरकारले जसरी पनि यातायात चलाउनु भन्ने र आन्दोलनकारीले बन्द गराउनु भन्ने दवावबीच आफूहरु परेको बताए ।
एकातिर बन्दमा चलाउने भन्दै प्रहरीले आफ्ना कतिपय सवारीसाधन जबर्जस्ती नियन्त्रणमा लिएको र अर्कातर्फ आन्दोलनकारीले पार्किङ गरिएको गाडी समेत जलाउने गरेको उनको गुनासो थियो ।
उनले बन्दको क्रममा सरकारले दिने भनेको क्षतिपूर्ति पर्याप्त नभएको र विगतमा दिने भनेको कतिपय क्षतिपूर्ति अहिलेसम्म पनि नदिएकाले ढुक्क हुन नसकेको बताए ।
माओवादी लगायत ३३ दलीय मोर्चाले गरेको १० दिने यातायात बन्दले यातायात व्यवसायीहरु मर्कामा परेको भन्दै बन्द फिर्ता लिन उनीहरुले माओवादी महासचिव थापासँग आग्रह गरेका थिए ।
जवाफमा महासचिव थापाले वार्ताबाटै समस्याको समाधान गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै सरकारले त्यसको पहल गरे बन्द फिर्ता लिन आफूहरु तयार रहेको बताएकोस्वाँरले जानकारी दिए ।    भेटमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका प्रतिनिधिहरुको पनि सहभागिता थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us