नेपालगन्ज, २५ कात्तिक– एकीकृत नेकपा माओवादीको मेची–महाकाली जागरण राष्ट्रिय अभियान अन्तरगत सोमबारका सभाहरु सकिएका छन् ।
बन्द हड्तालले कुनै अवरोध नपुर्याएको जागरण अभियान सोमबार कैलालीको टिकापुर पुगेर विश्राम लिएका छन् । वैद्य माओवादीले ठाउँ ठाउँमा रुख ढाल्ने, बम राख्ने र बाटोमा मोबिल खन्याएर प्रचण्डलाई रोक्न खोजे पनि सुरक्षाकर्मीले सबै पन्छाएर प्रचण्ड सहितको टोलीलाई गन्तब्यसम्म पुर्याउने गरेको छ ।
एकीकृत माओवादीको छैटौं दिनको जागरण अभियान अन्तरगत नेपालगन्जस्थित त्रिभुवन चोक, बाँकेको खजुरा, बर्दियाको राजापुर, गुलरिया, मैनापोखर र लालीबजार तथा कैलालीको टिकापुरमा जनसभा भएका छन् । ति सभालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गरेका छन् ।
एमाओवादीले चुनाव प्रचार प्रसार गर्न कात्तिक २० गतेदेखि झापाको काकडभिट्टाबाट जागरण अभियान शुरु गरेको थियो । अभियान कात्तिक २७ गते कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरी सकिने छ ।