
बुटवल, २४ कात्तिक–एकीकृत नेकपा माओवादीले मेची–महाकाली राष्ट्रिय जागरण अभियानको पाँचौं दिन आइतबार रुपन्देहीको सालझुण्डीमा सभा गर्दैछ ।
आइतबारका सभाहरु सालझुण्डी सहित चारनम्बर जितपुर, चन्द्रौटा, भालुबाङ, लमही, घोराही, तुलसीपुर र बाँकेको कोहलपुरमा हुने एकीकृत माओवादीले जनाएको छ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्वन्धित क्षेत्रका उम्मेदवारहरुले सम्वोधन गर्नेछन् ।
यसअघिका सभामा सँगै रहेका बरिष्ठ नेता डा. बाबुराम भट्टराई अबदेखि आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमै रहनेछन् । अभियानमा सँगै रहेका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि आफ्नो निर्वाचन क्षेत्र मकवानपुरमा रोकिएका छन् । यसअघि झापाको काकडभिट्टाबाट शुरु भएको जागरण अभियानको क्रममा भएका बिभिन्न सभालाई प्रचण्डसँगै भट्टराई र श्रेष्ठले पनि सम्वोधन गर्दै आएका थिए ।
चौथो दिनको अभियान हेटौडाबाट शुरु भएर रुपन्देहीको बुटवल पुगेर विश्राम लिएको थियो ।
निर्वाचनलाई लक्षित गर्दै एकीकृत माओवादीले कात्तिक २० गतेदेखि झापाको काकडभिट्टाबाट शुरु गरेको जागरण अभियान आउँदो २७ गते कैलालीको धनगढी पुगेर सम्पन्न हुनेछ ।