म्याग्दीमा १०१ मतदान केन्द्र

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते २:१४ मा प्रकाशित

म्याग्दी, २४ कात्तिक–संविधानसभा निर्वाचनका लागि म्याग्दीमा १०१ मतदान केन्द्र तय गरिएको छ । जिल्लामा ९७ स्थायी र चार अस्थायी गरी कुल १०१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए ।

जिल्लाका सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा कारागारमा रहेका बन्दीका लागि पायक पर्ने स्थानमा चारवटा अस्थायी मतदान केन्द्र स्थापना गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले कैदी बन्दीका लागि जिल्ला कारागार, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि गलेश्वरस्थित जडभरत प्रावि, निजामती कर्मचारी र नेपाल प्रहरीका लागि प्रकाश उच्च मावि बेनी र नेपाली सेनाको इन्द्रबक्स गणका लागि जामुनाखर्क उच्च मावि अर्थुङ्गेमा अस्थायी मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार अस्थायी मतदान केन्द्रमा मतदान गर्नेहरुले समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन् ।

निर्वाचनका लागि जिल्लामा सुरक्षाकर्मीबाहेक ९६३ जना कर्मचारी परिचालन हुनेछन् । प्रत्येक मतदानकेन्द्रमा १–१ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत गरी आठदेखि १२ जना कर्मचारीको टोलीलाई खटाउने तयारी गरिएको छ । निर्वाचनका लागि जिल्लामा निजामती कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, स्वयम्सेवकलगायतलाई परिचालन गरिएको जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि आवश्यक तालिमसमेत दिइसकेको छ । ४१ गाविस रहेको म्याग्दीमा ५६ हजार ५३७ जना मतदाता रहेका छन्  । एक निर्वाचन क्षेत्रमात्र रहेको म्याग्दीमा १३ दलीय र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us