फोनबाटै चुनावी सभालाई सम्बोधन

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १:४१ मा प्रकाशित

म्याग्दी, २४ कात्तिक–उपचारको क्रममा अस्पतालमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य भीमप्रसाद गौचनले गाउँगाउँमा आयोजना हुने चुनावी सभालाई फोनबाटै सम्बोधन गरेका छन् ।

खुट्टाको समस्याले गत कात्तिक १६ गतेदेखि हिँडडुल गर्न कठिनाइ भएपछि पोखरास्थित चरक अस्पतालमा उपचार गराइरहेका नेता गौचनले पार्टीको चुनावी आमसभालाई फोनबाटै सम्बोधन गरेका हुन् ।

शनिबार शिख गाविसमा आयोजित आमसभालाई समेत गौचनले मोबाइल फोनबाटै सम्बोधन गरेको राप्रपा म्याग्दीका सहसचिव वीरबहादुर थापा क्षेत्रीले जानकारी दिए । यसैगरी शुक्रबार म्याग्दीको उत्तर दाना र नारच्याङ गाउँमा आयोजित चुनावी सभालाई गौचनले फोनबाटै सम्बोधन गरी लोकतान्त्रिक संविधान निर्माण र जिल्लाको चौतर्फी विकासका लागि राप्रपाको पक्षमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरे ।

कात्तिक १६ गते भकिम्लीमा आयोजित चुनावी सभापश्चात उपचारका लागि पोखरामा रहेका गौचनको खुट्टाको सामान्य शल्यक्रिया गरिएकोले एक हप्तापछि मात्रै उनी अस्पतालबाट डिस्चार्ज हुने सो पार्टीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us