
मनिला–फिलिपिन्सको मध्य भागमा पर्ने लेयटे प्रान्तको ताक्लोबान सहरमा सुपर ताइफुन ‘हेयान’ का कारण करिब दशहजार व्यक्तिको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
फिलिपिन्सका सरकारी अधिकारीहरुले भने यस आँधीबाट केही सय व्यक्तिको मात्र मृत्यु भएको पुष्टि गरिसकेका छन् ।
सो आँधीबाट अत्यन्त प्रभावित लेयटे प्रान्तको प्रान्तीय राजधानी ताक्लोबान सहर मात्र करिब दशहजारको ज्यान गएको अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् । तर राष्ट्रिय सरकारी विभागहरूले प्रकोप नियन्त्रण तथा यस सङ्ख्यालाई पुष्टी भने गरेका छैनन् ।
आँधीका कारण हजारौं व्यक्तिलाई विस्थापित गरिएको छ । हेयान नामक यो आँधी अहिले सम्मकै सबभन्दा शक्तिशाली आँधी भएको अधिकारीहरुले बताएका छन । फिलिपिन्सलाई प्रतिवर्ष औसतमा २० वटा भिषण आँधी तथा चक्रवातले प्रभावित बनाउने गर्छ । सन् २०१२ फिलिपिन्समा आएको बोफा नामक आँधीमा परी करिब दुई हजार व्यक्तिको मृत्युभएको थियो ।
भियतनाममा आँधीबाट छ लाख विस्थापित
भियतनाममा सुपर टाइफुन ‘हेयान’ नामक आँधीको कारण छ लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा विस्थापित गरिएको भियतनामी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
‘हामीले एक लाख ७४ हजार परिवारका छ लाखभन्दा बढीलाई आँधी प्रभावित क्षेत्रबाट सारेका छौ’ बाढी र आँधी नियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् ।
यस आँधीले सोमबार बिहानसम्म सताउने अनुमान गरिएको छ । यद्यपि भियतनामको चारवटा प्रान्तमा शनिबार विस्थापित गरिएका करिब दुुईलाख व्यक्तिलाई आफ्नो घर फर्किन अनुमती दिइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।
भियतनाम मौसम विभागले प्रकाशन गरेको एक विज्ञप्तिका अनुसार ‘हेयान’ आँधी ३५ किलोमिटरप्रति घन्टाको हिसाबले देशको उत्तर भागबाट उत्तरपश्चिमतिर बहेको छ ।
भियतनाम राष्ट्रिय एयरलाएन्सहरूका अनुसार यस आँधीका कारण मध्य प्रान्तहरूमा ६२ वटा विमान उडान रद्द गरिएको छ । आँधीबाट ज्यान बचाउनका लागि भाग्न खोज्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ ।
तर प्रकोप नियन्त्रण अधिकारीहरूका अनुसार यस विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन । फिलिपिन्समा यसै ‘हेयान’ आँधीका कारण दश हजार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले अनुमान गरेका छन् । रासस/एएफपी/सिन्ह्वा