
काठमाण्डु–एकीकृत माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले बिराटनगरबाट नेकपा–माओवादीलाई राजनीतिक सहमतिमा मन्त्रिपरिषदले मनोनित गर्ने संविधानसभाका २६ सदस्य दिन सकिने घोषणा गरे लगत्तै मोहन वैद्यले ललितपुरको कुपण्डोलबाट भनिदिए ‘घोर अपमानको अनैतिक दुस्साहस ।’
दुई बर्ष अघिसम्म वैद्य र भट्टराई एउटै पार्टीका पहिलो र दोस्रो उपाध्यक्ष थिए । बैद्य संबिधानसभाको दोस्रो निर्वाचनलाई सशक्त बहिस्कार गर्ने अभियान सञ्चालन गरिरहेका छन् भने भट्टराई संबिधानसभा निर्वाचनमा आफनो दललाई पूर्ण बहुमत र संघीयता पक्षधरलाई दुई तिहाई बहुमत दिन जनतालाई अपिल गर्दै मेची-महाकाली अभियानमा छन् । यी दुई नेताका वीचमा समाज र राष्ट्रलाई बुझने दृष्टिकोणमा आकाश जमिनको फरक छ । वैद्य आफूलाई पूरानो कम्युनिष्ट र भट्टराईलाई नयाँ कम्युनिष्ट भन्न रुचाउँछन् ।
४० को दशकमा वैद्य नेकपा (मशाल)मा थिए भने भट्टराई नेकपा (मसाल)मा थिए । यी दुई नेताबीचको संकिणता त्यतिवेलै प्रष्टिन्थ्यो । श र स को वीचमा उनीहरुबीचको राजनीतिक दृष्टिकोणमा निकै फरक थियो । श र स दुई पार्टीदेखि अहिलेसम्म वैद्य दुई पटक पार्टीको प्रमुख व्यक्ति भइसकेका छन भने भट्टराई दोस्रो व्यक्तिमा सीमित छन् । तर भट्टराई प्रधानमन्त्री भएका छन् भने अघिल्लो संविधानसभामा पुगेर पनि बैद्यले राजीनामा दिएका थिए । वैद्य र भट्टराईलाई ०४६ सालमा एउटै पार्टीमा ल्याउने काम प्रचण्डले गरेका थिए ।
दुई नेतालाई दायाँ र बाँया राख्न सक्दासम्म आफनो नेतृत्वमा जनयुद्ध र जनआन्दोलन हुँदै मुलुकको सबै भन्दा ठूलो पार्टी,गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बनेका थिए । प्रचण्ड अहिले पनि बैद्य र भट्टराईलाई आफनो मातहतमा एउटै पार्टीमा राख्न चाहन्छन तर वैद्य र भट्टराई एकले अर्कोलाई स्वीकार्न सक्ने अवस्थामा छैनन्। यतिवेला वैद्य प्रचण्ड प्रति बढी नै आक्रामक देखिए पनि त्यो क्षणिक मात्रै हुनेछ, अन्त्यमा वैद्य प्रचण्डसँग नजिक हुनेछन् भने भट्टराईसँग टाढा रहनेछन् । दुई बर्ष अघि ललितपुरको धोवीघाटमा प्रचण्डको बिपक्षमा भएको बैठकमा वैद्य र भट्टराई मिलेको देखिए पनि त्यो क्षणिक देखिएको थियो । भट्टराई प्रधानमन्त्री भए लगत्तै सबैभन्दा बढी आक्रामक रुपमा वैद्य उत्रिएका थिए ।