मधेसवादी दल रक्षात्मक हुँदै

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:१८ मा प्रकाशित

कपिलवस्तु, २१ कात्तिक–कपिलवस्तुका पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारले नागरिकको घरदैलोमा पुगेर मतदातासँग मत माग्ने काम जारी राखेका छन् । हालसम्मको निर्वाचन गतिविधिलाई नजिकबाट नियाल्नेहरुका अनुसार जिल्लामा एमाओवादी, नेपाली काँग्रेस र एमालेको अवस्था यसपालि सुध्रिने स्थितिमा छ भने मधेसवादी दलको साख बच्न गाह्रो देखिएको छ  ।

नागरिक अगुवा दोलखबहादुर पछाई भन्छन्, ‘यसपालि मधेसवादी दलहरु विगतको अवस्था भन्दा धेरै तल झर्ने छन् ।’

संविधानसभाको पहिलो निर्वाचनमा कपिलवस्तुका पाँच सिटमध्ये तमलोपाले तीन, मधेसी जनअधिकार फोरमले एक र नेपाली काँग्रेसले एक सिट जितेको थियो । एमाओवादी र एमालेले खाता खोल्न सकेका थिएनन् । तर, यसपालि मधेसवादी दलहरु घट्ने र एमाओवादी, काँगे्रस र एमालेले जित्ने अवस्था देखापरेको राजनीतिक विश्लेषकको भनाइ छ ।

नागरिक अगुवा पछाईका अनुसार क्षेत्र नं १ मा एमाले, नेपाली काँग्रेस र एमाओवादीका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा एमाले केही अगाडि देखिएको छ । काँग्रेस र एमाओवादी त्यसपछि छन् । एक दलबाट अर्काे दल प्रवेश गर्ने क्रम निरन्तर जारी रहेकाले कसले जित्छ भन्ने आङ्कलन गर्न अहिले कठिन छ । अन्तिम चरणमा कतिपय उम्मेदवारले अर्कै उम्मेदवारको पक्षमा समर्थन गर्ने हुँदा नतिजा प्रभावित हुन सक्ने अवस्था विद्यमान छ । वैद्य माओवादीको समर्थन, थारू समुदायमा बलियो प्रभाव रहेका थारूहट पार्टीका जवाहर थारूको भूमिका र अखण्ड पार्टीको प्रभावले क्षेत्र नं १ को नतिजालाई प्रभावित गर्न सक्ने पछाइको भनाइ छ ।

मधेसी पत्रकार समाजका केन्द्रीय उपाध्यक्ष शतिश उपाध्यायका अनुसार क्षेत्र नं २ मा एमाओवादीका रामलौटन तिवारी, काँग्रेसका राजेश आचार्य, एमालेका अजिजुर रहमान शेष र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका दानबहादुर चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बनारसी वर्माका अनुसार क्षेत्र नं ३ मा काँग्रेसका सुधाकर पाण्डे, एमालेका बाबुराम खनाल र तमलोपाका वृजेशकुमार गुप्ताबीच मुख्य प्रतिस्पर्धा छ । मधेसी जनअधिकार फोरमका केदार कुर्मी पनि प्रतिस्पर्धामा नै छन् । विगतमा गुप्तालाई विजयी गराउन ठूलो समर्थन जुटाएका कुर्मी तमलोपा छाडेर फोरम नेपालबाट उम्मेदवार बनेकाले यसपालि गुप्तालाई चुनौती थपिएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य निशा विकका अनुसार क्षेत्र नं ४ मा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्य, एमालेका नेत्रराज अधिकारी र तमलोपाका ईश्वर दयाल मिश्राबीच प्रतिस्पर्धा छ । पत्रकार सीताराम चौधरीका अनुसार क्षेत्र नं ५ मा मधेसी जनअधिकार फोरम नेपालका अभिशेषप्रताप शाह, तमलोपाका मङ्गलप्रसाद गुप्ता र सदभावना पार्टीका मिर्जा अरसद बेगबीच मुख्य प्रतिस्पर्धा छ । मङ्गलप्रसाद गुप्ताले साथ छाडेर तमलोपाबाट उम्मेदवार बनेकाले वीरेन्द्र कनौडिया प्रारम्भिक प्रतिस्पर्धामा पछि परेका छन् ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष मनोज पौडेलको विचारमा यसपालि मधेसवादी दलहरु आफ्नो साख बचाउन नसक्ने अवस्थामा छन् । पौडेलको तर्क छ—‘विगतमा मधेसवादको राप र ताप उच्च थियो, मधेसी जनताको ठूलो अपेक्षा थियो तर सत्ताको स्वार्थले मधेसी नेताहरुलाई मधेसवादबाट अलग गराइदियो, फलस्वरुप यसपालि जनताको क्रेज उनीहरुप्रति छैन ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us