मृत्युदण्ड पाएका सैनिकले पुनरावलोकन गर्न पाउने

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १५:२० मा प्रकाशित

ढाका, २० कात्तिक–बङ्गलादेशको सरकारले विद्रोह गरेको आरोपमा १५२ सैनिकलाई मृत्युदण्ड दिने अदालतको निर्णय सही भएको दाबी गर्दै दोषीले पुनरावेदनको अवसर पाउने बताएको छ । अपराधमा साविती बयान लिन उनीहरुलाई यातना दिइएको भन्ने कुरालाई भने सरकारले अस्वीकार गरेको छ ।
कानुनमन्त्री सफिक अहमदले दोषीले दुई चरणमा पुनरावेदन गर्न पाउने बताए । एक दिन अगाडि ढाकामा एक अदालतले ८२३ सैनिकका विषयमा निर्णय दिएको छ । उनीहरूले पाँच वर्ष अगाडि रक्तपातपूर्ण विद्रोह गरेको आरोप लगाइएको थियो ।
मन्त्री अहमदले उच्च अदालतहरूले यस विषयमा पुष्टि नगरेसम्म मृत्युदण्डको फैसला कार्यन्वयन नगरिने बताए ।
मृत्युदण्डका साथमा विशेष अदालतले मङ्गलबार ४०० व्यक्तिलाई काराबासको सजाय तेकेको थियो । सन् १९७१ मा स्वतन्त्र भएपछि बङ्गलादेशको इतिहासमा यो सबैभन्दा ठूलो मुद्दा हो ।
मृत्युदण्डको निर्णय प्राप्त गरेका व्यक्तिहरूले सन् २००९ मा एक सैनिक केन्द्रमा हतियार लुटेको र आमहत्या गरेको बताइएको छ । उनीहरूले आफ्नो बेतन तथा सुविधा बढाउन गरेको आग्रहलाई अधिकारीहरूले लामोसमयसम्म ध्यान नदिएको क्रोधमा उक्त कार्य गरेको बताइएको छ ।
ढाकामा दुई दिनसम्मको उक्त विद्रोहमा ७४ व्यक्तिको मृत्युभएको थियो । त्यसमा ५७ वरिष्ठ अधिकारी थिए । यी मध्ये धेरैलाई मारिएको थियो भने केहीलाई जिउँदै जलाइएको थियो । उनीहरूको शरीर नालीमा बगाइएको थियो ।
उनीहरूले अदालतमा साविती वयान दिए पनि मानवअधिकारवादी समूहहरूले यातना दिएर आरोपित व्यक्तिबाट साविती बयान लिइएको दाबी गरेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us