खुम्बुमा न तिहारको रौनक, न चुनावको चहलपहल

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ११:२१ मा प्रकाशित

सोलुखुम्बु,कात्तिक–सोलुखुम्बुको खुम्बु क्षेत्रमा यतिबेला न तिहारको रमाइलो छ न त चुनावकै चहलपहल । पर्यटकको मुख्यमौसम मानिने कात्तिक महिनामा यहाँका बासिन्दा पर्यटकलाई सेवा दिनमै व्यस्त रहेपछि खुम्बु पुग्ने कसैलाई पनि तिहार र चुनावले छुन नसकेको हो ।
यस क्षेत्रमा बुद्धधर्मवालम्बीहरू मात्र बसोबास गर्ने हुनाले पनि यस क्षेत्रलाई दसँै तिहार जस्ता चाडले खासै छुदैन् । प्रायः शेर्पा र तामाङ जाति बसोबास गर्ने यस भेगका शेर्पाहरू पुर्खादेखि नै दसँै तिहार मनाउदैनन् भने तामाङहरूको जातिय संस्था तामाङ घेदुङले संस्थागत रूपमै दसैँ तिहार जस्ता चाड नमनाउन आफ्नो समुदायमा आग्रह गरेपछि यहाँका बासिन्दाले सो चाडपर्व त्याग्दै जान थालेका छन् ।
वितेका केही वर्षहरूमा जिल्लाको तल्लो क्षेत्रबाट संस्थागतरूपमा देउसीभैली खेल्न जिल्लाको खुम्बु क्षेत्र जाने गरेको भए पनि पछिल्लो समयमा यसको चाप बढेकाले निश्चित रकम मात्र दिने निर्णय पछि देउसी भैली खेल्ने समूहमा पनि नियन्त्रित भएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्र यतिबेला पर्यटकमय भएको छ ।
बाटोघाटो, पुलपुलेसा, चौतारी, होटल पसल जहाँतहीँ यतिबेला पर्यटकको चाप छ । पर्यटकसँग हिँड्न पाउँदा र यहाँको वातावरणले तिहार र दिदीबहिनीको खासै याद नआउने धादिङबाट सोलुखुम्बुमा ट्रेकिङ गर्न आएका बलराम रम्तेल बताउछन । उनी अघिल्ला वर्षहरू दिदीबहिनीको हातबाट टीका लगाएको भए पनि यसवर्ष काममा भएका कारण टीका लगाउन नपाएकामा खासै दुःखित नभएको बताउछन ।
लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न ताप्लेजुङका ओम योन्जनले तिहार मनाउन नपाएको वर्षौवर्ष बितेको बताए । कामको मुख्य मौसममा तिहार मनाएर बसे आफ्नो गाँससमेत टुट्ने भन्दै उनले आफूहरूका लागि काम नै दसँै तिहार हँुदै आएको बताए ।
जिल्लावासी र अन्य जिल्लाबाट समेत आएका उनीहरू विदेशी पाहुनाको सेवामै व्यस्त रहेपछि दलका नेता तथा कार्यकर्ताले समेत यसक्षेत्रको चुनावी कार्यक्रमलाई खासै प्राथमिकता दिएका छैनन् ।
क्षेत्रफलको हिसाबले ठूलो क्षेत्र रहेपनि मतदाताको सङ्ख्या उल्लेख्य नभएपछि मुख्य दलले यस क्षेत्रलाई लक्षित गरी विभिन्न चुनावी सभा पनि राखेका छैनन् । त्यसैले पनि यतिबेला खुम्बुमा चुनाव र तिहारको कुनै रौनकता छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us