अर्थहीन शक्ति प्रयोगबाट शान्ति प्राप्त हुँदैन:पाकिस्तानी प्रधानमन्त्री

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते १३:१९ मा प्रकाशित

इस्लामाबाद, १८ कात्तिक–अमेरिकी चालकविहीन विमानको आक्रमणमा तालिवानका नेता हकिमुल्लाह मेहसुदको मृत्यु भएपछि सार्वजनिक रूपमा पहिलोपटक बोल्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सोमबार शक्तिको अर्थहीन प्रयोगले शान्ति प्राप्त गर्न नसकिने बताएका छन ।    पाकिस्तानी सरकारका प्रतिनिधिहरूले तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी) सँग वार्ता गर्न तयारी गरिरहेको अवस्थामा शुक्रबार मेहसुद मारिएका थिए । यस घटनाप्रति इस्लामाबादले क्रुद्ध प्रतिक्रिया व्यक्त गरेको छ भने अफगान राष्ट्रपति हमिद करजईले यो आक्रमण अनुपयुक्त समयमा भएको बताएका छन ।
पाकिस्तानी गृहमन्त्री चौधरी निसारले शनिबार वासिङटनले डोन आक्रमण गरी शान्ति प्रयासलाई बिथोलेको आरोप लगाएका छन ।
सरिफले चालकविहीन विमानको आक्रमणका विषयमा प्रत्यक्ष रूपमा नबोले पनि आफूले शान्तिलाई मौका दिन चाहेको बताए ।
उनले आफ्नो सरकार रक्तपात तथा हिंसाको चक्रलाई अन्त्य गर्न दृढ रहेको बताए । उनले यी कुरा पञ्जाव प्रान्तको बहलपुर नजिकै सैनिक अभ्यासपछि सम्बोधनमा बताए ।
उनले मन्त्रिपरिषद्को सुरक्षा समितिको बैठक सोमाबार बस्ने र त्यसमा वासिङटनसँग इस्लामाबादको सम्बन्धको सबै पक्षमा पुनराबलोकन हुने बताए ।
अफगान नेता करजईले आफ्नो भनाइ काबुलको भ्रमणमा रहेका अमेरिकी संसदका प्रतिनिधिसमक्ष राखेका हुन ।
टीटीपीले अफगानको तालिवानभन्दा पृथक रूपमा काम गर्छ तर उसले एकै नेता मुल्लाह ओमारसँग प्रतिवद्धता व्यक्त गरेको छ ।
अफगान राष्ट्रपति करजईले पनि अफगान तालिवानसँग गत १२ वर्षको युद्ध अन्त्य गर्न वार्ता गर्न प्रयास गरिरहेका छन तर उनीसँग वार्ता गर्न यस इस्लामी लडाकू समूहले अस्वीकार गरेको छ ।
इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीको नेतृत्वमा विपक्षी दलहरूले सरकारलाई अफगानिस्तानमा नेटोको सेनालाई आवश्यक सामग्री आपूर्ति गर्न प्रयोग भएको पाकिस्तानबाट अफगानिस्तान पुग्ने मार्ग बन्द गर्न आग्रह गरेका छन् ।
यो दल उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको सरकारमा रहेकाले यसले उक्त मार्ग बन्द गर्ने बताएको छ । यसो गर्दा अफगानिस्तान पुग्ने प्रमुख मार्ग बन्द हुनेछ ।
सन् २०१२ मा अमेरिकी आक्रमणमा २४ जना पाकिस्तानी सैनिकको मृत्यु भएपछि पाकिस्तानले यस मार्गलाई बन्द गरिदिएको थियो ।
अफगानिस्तानमा १२ वर्षसम्म रहेपछि आउँदो वर्ष नोटोले त्यहाँ रहेका ८७ हजार सैनिकलाई फिर्ता लैजानेछ । यस सेनाका लागि पाकिस्तानी क्षेत्र भएर आउने आपूर्ति सामग्रीको महत्व अधिक रहेका बताइएको छ ।
पाकिस्तानमा अमेरिकाविरोधी भावना बलियो रहेको छ भने चालकविहीन विमानबाट आक्रमण निकै अलोकप्रिय रहेको छ । पाकिस्तानले यसले आफ्नो नागरिकको मृत्यु हुने गरेको र सार्वभौमसत्ता उल्लङ्घन भएको दाबी गरेको छ ।
टीटीपीले आफ्नो सर्वोच्च परिषद्का प्रमुख अस्मातुल्लाह सहिन भिटानीलाई आइतबार आफ्नो अस्थायी नेताको रूपमा छनौट गरेको छ ।
टीटीपीका दोस्रो स्थानका नेता खान सइदले मेहसुदको नजिकको मानिएका भिटानी यस समूहका लागि स्थायी प्रमुख हुनसक्ने धारणा व्यक्त गरेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us