अफगान राष्ट्रपतिद्वारा अमेरिकाको आलोचना

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ९:०९ मा प्रकाशित

काबुल, १८ कात्तिक–अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीले संयुक्त राज्य अमेरिकाले पाकिस्तानी तालिवान नेताको कारबाहीका क्रममा गरेको हत्याप्रति अमेरिकाको विरोध गरेका छन । उनले उक्त हत्याको समय उचित नभएको बताए । उनले भनेका छन ‘कारबाही निरन्तर रहेको भएपनि यो समय उचित थिएन ।’
पाकिस्तानी तालिवानका कमान्डर हकिमुल्लाह मेहसुदको अमेरिकी चालकविहीन विमानको आक्रमणमा परी शुक्रबार मृत्यु भएको हो ।
सो मृत्युपछि दक्षिण एसियाली देश अफगानिस्तान र पाकिस्तानमा स्थापना हुन लागेको भनिएको शान्तिका विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।
राष्ट्रपति कारजायीजस्तै तालिवान नेताको यो हत्यापछि यस विषयमा तालिवानहरुले गर्नसक्ने क्षतिको विषयलाई विभिन्न अड्कलबाजीहरु आइरहेका छन् । तर्कता अपनाइएको बताइएको छ ।
मेहसुद पाकिस्तानमा रहेका तालिवानहरुको सङ्गठन प्रमुख तथा प्रमुख कमाण्डर पनि थिए । उनलाई अमेरिकी सरकारले पनि सर्वाधिक खोजीको आतङ्ककारीको सूचीमा राखेको थियो ।
यो हत्यापछि पनि पाकिस्तानमा सुरु हुन गइरहेको शान्ति प्रक्रियामा कुनै असर नपर्ने प्रतिक्रिया उनले दिए । उनको भनाई छ– कारबाही गर्ने यो समय उचित थिएन किनभने पाकिस्तानमा तालिवानहरुसँगै शान्ति वार्ताको प्रक्रिया सुरु हुन लागेको छ । तर यी कुनैपनि कारबाहीपछि पनि पाकिस्तानमा हुन लागेको वार्ताको प्रक्रिया नरोकियोस भन्ने पक्षमा आफु रहेको पनि उनले बताए ।
हाल अफगानिस्तानको भ्रमणमा रहेको अमेरिकी साँसदहरुको एक प्रतिनिधिमण्डलसँग उनले भने– पाकिस्तानमा पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रमबाट कुनैपनि हालतमा शान्ति प्रक्रियालाई अबरुद्ध पारिनुहुँदैन ।
यो कारबाहीका कारण पाकिस्तानी अधिकारीहरुमा पनि असन्तोष बढेको पाइएको छ । पाकिस्तानका गृह मन्त्री चौधरी निसारले पनि यो हमलाले शान्तिवार्ताको मार्गमा अवरोध गर्न खोजेको आफुले पाएको बताएका छन ।
अफगानिस्तानका तालिवानहरुसँग पनि वार्ताका लागि राष्ट्रपति कारजायीले पहल गरेका छन । यसका लागि उनले उच्चस्तरीय शान्ति समितिको गठनका साथै आफैले सोही प्रयोजनाका लागि पाकिस्तानको पनि भ्रमण गरेका छन ।
    अमेरिकासँगको सम्बन्धमा पुनरावलोकन हुने
पाकिस्तानमा त्यहाँको तालिवानका नेताको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि सो घटनाले पाकिस्तानी अधिकारीहरुलाई पनि आक्रोषित बनाएको समाचार छ ।
पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले अमेरिकासँगको सम्बन्धका बारेमा सोमबार साँझ राजधानी इस्लामावादमा बोलाइएको बैठकमा अमेरिकासँगको सम्बन्ध पुनरावलोकनसम्बन्धी छलफल गर्ने बताएका छन ।
पाकिस्तानी प्रधानमन्त्रीको हैसियतमा केही हप्तामात्र अघि अमेरिकाको भ्रमणका क्रममा पाकिस्तानमा हवाई हमला नगर्नका लागि उनको आग्रह विपरित गत शुक्रबार तालिवान नेताकै सो हवाई हमलामा ज्यान गएपछि सो सम्बन्धका बारेमा पुनरावलोकन गरिने भएको बताइएको छ ।
उता अमेरिकाद्वारा आतङ्ककारी घोषित पाकिस्तानी तालिवान सङ्गठनका प्रमुख हकिमुल्लाह मेहसुदको मृत्युपछि तालिवानहरुले गर्नसक्ने आक्रमणलाई मध्यनजर गर्दै पाकिस्तानमा उच्च सुरक्षा सतर्कता पनि अपनाइएको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us