
काठमाण्डु १८ कात्तिक–साउदी अरेबियासंगको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव कम गर्ने प्रयासमा अमेरिकी विदेशमन्त्री जन केरी त्यहां पुगेका छन्।
लामो समययताको अमेरिकी मित्रका रुपमा चिनिएको साउदी अरेबिया मध्यपूर्वसम्बन्धी पछिल्ला अमेरिकी नीतिबाट खुशी नरहेको बताइन्छ।
बसर अल असदको सिरियाली सरकारविरुद्ध हवाइ कारवाही गर्ने योजनाबाट अमेरिका पछि हटेदेखि नै साउदी अरेबिया वासिंगटनसंग असन्तुष्ट थियो।
त्यसकै प्रतिक्रयाजस्तो देखिने गरी साउदी अरेबियाले गत महिना राष्ट्रसंघीय सुरक्षा परिषदमा आफू चुनिएपनि अस्थायी सदस्यता अस्वीकार गरिदिएको थियो।
केरीले आफ्नो साउदी बसाइमा ती घटनापछि उत्पन्न तनावलाई मत्थर पार्ने प्रयास गर्ने ठानिएको छ।
अमेरिका मध्यपूर्वसम्बन्धी आफ्नो नीतिमा बलियोरुप प्रस्तुत हुन नसकेको बुझाइ साउदी अधिकारीहरुमा देखिएको केरीसंगै यात्रा गरिरहेकी बीबीसी संवाददाता किम घटासले उल्लेख गरेकी छन्।
उनले भनिन्,”तर कायरोमा आयोजित पत्रकार सम्मेलनमा केरीले त्यस्ता बुझाइको जवाफ दिदैं अरब मित्रहरुसंग रणनीतिमा भिन्नता देखिएपनि ठूला लक्ष्यहरुमा भने एकै स्थानमा रहेको बताए। जस्तो उदाहरणका लागि सिरियामाथि हवाइ हमलामा फरक मत रहेपनि असदलाई हटाउन सबै सहमत छन्।”
मध्यपूर्वको संकटग्रस्त मुलुक इजिप्टको कायरोलगत्तै रियाद पुगेका केरीले साउदी नेताहरुसंग इजिप्ट, सिरिया, इरान लगायत समग्र क्षेत्रबारे छलफल गर्ने बताइएको छ।
आफ्नो क्षेत्रीय यात्राका क्रममा कायरोमा रहंदा केरीले हिंसाको प्रयोग कम गर्न तथा प्रजातन्त्र स्थापनातर्फ अघि बढ्न आव्हान गरेका थिए। Source BBC