पाकिस्तानलाई अमेरिकाको जवाफ,’महसुद मर्नु जरुरी’

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:०० मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक–तालिवान नेता हकीमुल्ला महसूदको मृत्युले शान्ति वार्ताको प्रयासमा धक्का लागे पनि हिंसा अन्त्य गर्न पाकिस्तान र अमेरिका दुवैको रणनीतिक हितमा रहेको अमेरिकाले दावी गरेको छ । शान्तिवार्ताको प्रयास जारी रहेकोबेला अमेरिकी ड्रोन हमलामा महसुद मारिएपछि पाकिस्तानले शान्तिप्रकृयामा अमेरिकाले धक्का पुर्याएको भन्दै रोष प्रकट गरेपछि अमेरिकाको यस्तो जवाफ आएको हो ।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भनेका छन् ‘तालिवानसँगको वार्ता पाकिस्तानको आन्तरिक मामिला हो । तर चरमपन्थी हिंसा अन्त्य गर्न पाकिस्तान र अमेरिका दुवैको रणनीतिक हितमा छ ।’

यसअघि पाकिस्तानका गृहमन्त्री चौधरी निसार अली खानले महसुदको मृत्यु एक व्यक्तिको मात्र नभइ सबै शान्ति प्रयासको मृत्यु भएको प्रतिकृया दिएका थिए ।

शान्ति वार्ताको प्रयासमा पाकिस्तानी शीर्ष टोली महसुदसँग भेटघाट गर्न बजीरिस्तान जाने तयारी भैरहेकोबेला उनको मृत्यु भएको खबर सार्बजनिक भएको हो । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले तालिवान विद्रोहीसँग शान्तिवार्ताको प्रकृया अघि बढाएका थिए । यसैक्रममा तालिवान बरिष्ठ नेता मारिएपछि पाकिस्तान चिन्तित छ । पाकिस्तानी सूचनामन्त्री परवेश रशीदले अमेरिकाले शान्ति वार्तामा हमलाको कोशिस गरिरहे पनि यसलाई सफल हुन नदिने दृढता व्यक्त गरेका छन् ।

महसुद मारिएको खबरपछि पाकिस्तानमा थप हमला हुन सक्ने आशंकामा सुरक्षा सतर्कता बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us