महाकवि देवकोटाको जन्मजयन्ती आज

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते १:२३ मा प्रकाशित

Laxmi-Prasad-Devkotaकाठमाण्डु, १७ कात्तिक–बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौँ जन्मजयन्ती आइतबार स्वदेश र विदेशमा विभित्र कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो । पण्डित तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवकोटाको साइलो छोराका रूपमा तिहारको लक्ष्मीपूजाकै दिन जन्म भएकाले उनको नाम लक्ष्मीप्रसाद राखिएको हो ।

उनको पहिलो प्रकाशित कविता सङ्ग्रह ‘पहाडी पुकार’ र पछिल्लो कृति ‘नागरिक शास्त्र’ हो । सबैभन्दा धेरै बिक्री भएको उनको पुस्तक ‘मुनामदन’ खण्डकाव्य हो । विक्रम संवत् २००८ मा देवकोटाले उक्त कृति लेखेपनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको हो । ‘नागरिक शास्त्र’ नामको पाण्डुलिपिको प्रकाशन कार्य हरिमञ्जुश्री, मोहनप्रसाद पराजुली र पार्थवमणि भट्टराईको संयुक्त लगानीमा भएको हो । उक्त कृति नेपालको राजनीतिक गतिविधिबारे लेखिएको र कृतिमा नेपालको विकास गणतन्त्रबाट मात्र सम्भव भएको कुरा उल्लेख गरेकाले कवि देवकोटालाई प्रगतिवादी धारका प्रवर्तक पनि भन्ने गरिन्छ ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान रहेको छ ।

अहिलेका आधुनिक कविहरू देवकोटाका साहित्यमा स्वच्छन्दतावाद, प्रगतिवाद, मानवतावाद र क्रान्तिकारिता झल्कन्छ भन्छन् । महाकवि देवकोटाले सहनशीलता, सहयोगी भावना र दयाको उपदेश दिन्थे । एक दिन देवकोटा कामबाट घर फर्किंदै गर्दा एकजना मगन्तेले पैसा माग्दै आयो । जाडोले कठ्याङ्ग्रिएको मगन्तेलाई देवकोटाले आफूले लगाइराखेको कोटसमेत फुकालेर लगाउन दिएको घटनालाई जोडेर केही साहित्यकारले देवकोटामा गहिरो मानवतावाद रहेको टिप्पणी गर्ने गर्छन् ।

महाकवि देवकोटालाई विपुल कवि पनि भनिन्छ । उनले कलम नचलाएको विधा नै छैन । उनले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन् । उनका कवितातर्फ पहाडी पुकार, पुतली, भिखारी, सुनको बिहान, छहरा, जन्मोत्सव, मुटुको थोपा, मृत्यु शैयाबाट, चिप्लापातहरू, लक्ष्मी कविता सङ्ग्रह लगायतका कविता सङ्ग्रह र गीततर्फ गाइने गीत, आकाश बोल्छे र बालसाहित्यमा सुनको बिहान, पुतली लगायतका कृति प्रकाशित भएका छन् ।

त्यसैगरी महाकवि देवकोटाका खण्डकाव्यअन्तर्गत मुनामदन, रावण जटायु युद्ध, सीताहरण कृषि बाली, कुञ्जिनी, लुनीलगायत छन् भने महाकाव्यतर्फ शाकुन्तला, सुलोचना, पृथ्वीराज चौहानलगायत प्रकाशित छन् । निबन्धतर्फ लक्ष्मी निबन्ध सङ्ग्रह र दाडिमको रूखनेर, नाटकतर्फ सावित्री सत्यवान्, उपन्यासमा चम्पा र कथातर्फ लक्ष्मी कथा सङ्ग्रहसमेत प्रकाशित छन् ।

साहित्यकार वसन्त शर्माका अनुसार देवकोटाले तीन महिनामा ‘शाकुन्तला’ १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको बताउनुहुन्छ । दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बिएल र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए । आर्थिक अवस्था दयनीय रहेका देवकोटाले आफ्नो खर्चको व्यवस्था केटाकेटीलाई ट्युसन पढाएर गरेको पाइन्छ ।

देवकोटाको विवाह १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग भएको थियो । पारिवारिक वियोगान्तबाट पीडित देवकोटा चुरोटका अम्मली थिए । त्यसैले उनलाई २०१५ सालमा पेटको क्यान्सर रोगले ग्रस्त पा¥यो र उपचारका क्रममा २०१६ भदौ २९ गते मृत्यु भयो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us