प्रचण्डको मत २३२७७ बाट घटला कि बढला ?

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १४:०७ मा प्रकाशित

कीर्तिपुर,कात्तिक–चुनावको मिति नजिकिँदै गर्दा काठमाण्डुको निर्वाचन क्षेत्र नम्बर १० मा राजनीतिक दलहरू आसन्न चुनावमा दाउ मार्ने होडका साथ निकै सक्रिय देखिएका छन् ।   Prachanda

प्रमुख राजनीतिक दलहरू एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमालेलगायत विभिन्न २८ राजनीतिक दल यस क्षेत्रमा चुनावको प्रतिस्पर्धामा छन् भने यसै क्षेत्रबाट ११ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
काठमाण्डु दक्षिण पश्चिम भेगका १२ गाविस र कीर्तिपुर नगरपालिका काठमाण्डु  निर्वाचन क्षेत्र नम्बर १० अन्तर्गत पर्दछ । अघिल्लो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विजय हासिल गरेको यो क्षेत्रमा एनेकपा माओवादीले यस निर्वाचनमा पनि अध्यक्ष प्रचण्डलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।

अघिल्लो निर्वाचनमा प्रचण्डले उक्त क्षेत्रबाट २३ हजार २७७ मत प्राप्त गरी विजय हासिल गरेका थिए । पार्टी अध्यक्ष नै उम्मेदवारका रूपमा रहेको यस क्षेत्रमा एनेकपा माओवादीले आफ्नो चुनावी अभियान अत्यन्त तीव्रताका साथ सञ्चालन गर्दै आएको छ ।

आफ्नो चुनावी प्रचारप्रसारका क्रममा अध्यक्ष प्रचण्डले देशमा संविधान लेखनको सुनिश्चितताका लागि एनेकपा माओवादीको जित आवश्यक भएको र काठमाण्डु–१० को विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन ।

उम्मेदवारीसँगै क्षेत्रअन्तर्गतका स्थानमा स्थानीय कार्यकर्तालाई विशेष रूपमा परिचालित गरेका प्रचण्डले आफू पनि निर्वाचन लक्षित घरदैलो तथा प्रचारमा सहभागी भएका छन ।

काँग्रेसले आसन्न निर्वाचनका लागि राजेन्द्रकुमार केसीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा पनि काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी प्रचण्डका निकटतम् प्रतिद्वन्द्वी थिए ।    विगतको आफ्नो पराजयलाई यस पटक विजयमा पु¥याउने लक्ष्यका साथ निकै सक्रिय बन्दै केसी चुनाव प्रचारप्रसारमा जुटेका छन । अघिल्लो निर्वाचनमा पराजय भएपछि पनि यस क्षेत्रको सुख दुःख तथा विकास निर्माणलगायतमा आफू सधैँ क्रियाशील भएको बताउने केसीमा आगामी निर्वाचनमा यस क्षेत्रका जनताले आफूलाई विजयी गराउने विश्वास छ ।

कीर्तिपुर नगरपालिकासहित काठमाण्डु पश्चिम भेगका मच्छेगाउँ, मातातीर्थ लगायतका ६ वटा गाविस, दक्षिणभेगका चाल्नाखेल, दक्षिणकाली लगायतका ६ गाविसमा नेपाली काँगे्रसले आफ्नो चुनाव प्रचारप्रसार अभियानलाई तीव्र रूपमा अघि बढाएको नेपाली काँगे्रस काठमाण्डु–१० चुनाव प्रचारप्रसार समितिका सदस्य कृष्णमान डङ्गोलले बताए ।
नेकपा (एमाले)ले काठमाण्डु–१० मा आफ्नो चुनाव प्रचारप्रसार अभियानलाई सक्रियरूपमा अघि बढाएको छ । यस क्षेत्रका लागि काँग्रेस र एनेकपा माओवादीले अघिल्लो निर्वाचनका पार्टीका उम्मेदवारलाई यस पटक पनि निरन्तरता दिएकोमा नेकपा (एमाले)ले भने नयाँ उम्मेदवारलाई अघि सारेको छ ।

surendra manandharनेकपा (एमाले)का सुरेन्द्र मानन्धर कीर्तिपुरका स्थानीयवासी हुन । नेवार समुदायको बाहुल्यता रहेको काठमाण्डु–१० मा स्थानीयवासीलाई उम्मेदवारका रूपमा अघि सारेको नेकपा (एमाले)ले आफ्नो घरदैलो तथा चुनाव प्रचारप्रसारलाई निकै सक्रिय पारेको छ ।

काठमाण्डु दक्षिणभेगमा आफू राम्रोसँग भिजेको तथा जनताका सुख दुःखमा लामो समयदेखि सहभागी भएका कारण आसन्न निर्वाचनमा आफू मतदाताको रोजाइमा पर्ने मानन्धरको विश्वास छ ।

निर्वाचनको प्रचारप्रसार एवम् घरदैलोसँगै आफूमा अझै उत्साह थपिएको उनले बताए ।  क्षेत्र नम्बर १० को निर्वाचनका लागि आफ्नो सक्रियता निकै बढाएका राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश कुँवरलाई पनि यस निर्वाचनमा आफूले राम्रो मत प्राप्त गर्ने विश्वास छ ।

वडर््फ्लुको मारसँगै समस्यामा परेका काठमाण्डु दक्षिणपश्चिम भेगका कुखुरा व्यवसायीलाई राहत उपलब्ध गराउनका लागि पश्चिम भेगीय कुखुरापालक सङ्घर्ष समितिका समेत संयोजक रही विगत तीन महिनायता निकै सक्रिय बनेका उनी सर्वसाधारण तथा कृषक वर्गमा आफू निकै भिजेको बताउछन ।

संविधानमार्फत राष्ट्रिय एकता कायम गर्न र काठमाण्डु–१० को समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको कुँवरको भनाइ छ ।    राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रूपा बलामी, राप्रपा नेपालका ध्रुव महर्जन, नेपाः राष्ट्रिय पार्टीका कृष्णहरि महर्जन पनि यस क्षेत्रको समस्या तथा स्थानीय सरोकारका विषयप्रतिको प्रतिबद्धताका साथ भोट माग्दै घरदैलोमा निकै सक्रिय देखिएका छन ।

त्यस्तै काठमाण्डु–१० मा नेपाल मजदुर किसान पार्टीबाट नारायण महर्जन, जनयुनिटी कोअपरेटिभ पार्टी, नेपालबाट अमृतबहादुर क्षेत्रीलगायत विभिन्न २८ दलका उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्दै छन भने स्वतन्त्र उम्मेदवारका रूपमा पदम कुँवर, विकास महर्जन, विष्णुबहादुर महर्जन, रविकान्त मानन्धरलगायतका ११ जना उम्मेदवार प्रतिस्पर्धा गर्दै छन ।

विगतमा पनि राष्ट्रिय राजनीतिमा नै प्रत्यक्ष प्रभाव पार्ने गरेको कीर्तिपुर लगायत काठमाण्डु दक्षिणपश्चिम भेगमा उम्मेदवारका साथै यहाँका सर्वसाधारण पनि राजनीति प्रति विशेष चासो दिने गर्दछन् ।

विगतका निर्वाचनमा मदन भण्डारी, कृष्णगोपाल श्रेष्ठ, तीर्थराम डङ्गोल विजयी बनिसकेको यस क्षेत्रको स्थानीय विकास निर्माणलगायतका कुरालाई मतदाताले उम्मेदवारसमक्ष राख्ने गरेको कीर्तिपुरका चन्द्रबहादुर श्रेष्ठ बताउँछन ।

उनले काठमाण्डु–१० मा पर्ने कीर्तिपुर नगरपालिका तथा पश्चिमभेगका मच्छेगाउँ, सतुङ्गल, मातातीर्थ, बाँडभञ्ज्याङ, थानकोट र महादेवस्थान जस्ता ६ गाविस र दक्षिणभेगका चाल्नाखेल, शेषनारायण, सेतीदेवी, छैमले, दक्षिणकाली, टल्कुडुडेचौर जस्ता ६ गाविसका स्थानीयवासी स्थानीय सरोकारमा चासो दिनसक्ने व्यक्तिलाई रोज्ने गरेको बताए ।

स्थानीय विकास निर्माणलगायतका विषयलाई उच्च प्राथमिकतामा राख्दै राजनीतिक दलहरूले आफ्ना स्थानीय घोषणापत्रमा पनि थानकोटबाट मातातीर्थ, मच्छेगाउँ, कीर्तिपुर हुँदै चाल्नाखेलसम्म वैकल्पिक मोटरबाटो, कीर्तिपुर, फर्पिङलगायतका क्षेत्रको पर्यटकीय विकास, व्यवस्थित सहरीकरण लगायतका विषयलाई समेटेका छन् ।

अघिल्लो निर्वाचनमा कुल ६३ हजार ७८८ मतदाता रहेको काठमाण्डु–१० मा हाल ६२ हजार ५७३ मतदाता रहेका छन् । यस क्षेत्रमा हाल ९२ मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय रूपमा नै आकर्षणका रूपमा देखिएको यस क्षेत्रको आसन्न निर्वाचनमा कसले बाजी मार्छ त्यो सबैको चासोको विषय बनेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us