
वीरगन्ज, १५ कात्तिक । आम नेपाली जनता यतिखेर महान् चाड तिहारको तैयारीमा जुटेका छन् । यो व्यस्तताबीच व्यवस्थित गर्नुपर्ने धेरै कामकुरामध्ये नछुटाई नहुने पक्ष हो सुन अथवा द्रव्यको खरिदारी तर सुनको बढ्दो मूल्यका कारण यसपालि यहाँका अधिकांश व्यक्ति धनतेरसका दिन चाँदीका सिक्का किनेर नै चित्त बुझाउने तर्खरमा छन् ।
शुक्रबार र शनिबार मनाउने धनतेरस अर्थात् धातु किन्ने दिनमा प्रायः सबै हिन्दू धर्मावलम्बीहरुले धातु किन्ने गर्छन् । त्यो दिन सबैको एउटै रोजाइ हुन्छ, पहेंलो धातु अर्थात् सुन । तर सुन अत्यधिक महँगो भएकाले त्यसको खरिदमा सबैको क्षमताले भ्याउँदैन । त्यसैले आ–आफ्ना क्षमताअनुसार कसैले सुन, कसैले चाँदी र कसैले स्टिलका भाँडावर्तन किनेर नै चित्त बुझाउने गर्छन् ।
विगतमा धनतेरसका दिन सुन किन्ने गरेको वीरगन्ज राधेमाईका मनोज रौनियार यसपालि चाँदीको सिक्का किन्ने सोचाइमा छन् । ‘किन्न नै नसकिने गरी सुनको मूल्य बढेको छ,’ उनले भने, ‘के गर्नु, आफ्नो क्षमता र आम्दानीले सुन किन्न सकिँदैन, त्यसैले यस वर्ष धनतेरसका दिन चाँदीको सिक्का किनेर नै चित्त बुझाउनुपर्ला ।’
त्यस्तै गत वर्ष धनतेरसका दिन पाँचवटा चाँदीका सिक्का किनेर दीपावली मनाएका वीरगन्ज श्रीपुरका शङ्कर पञ्जियार यस वर्ष पनि पाँचवटा चाँदीका सिक्का किन्ने सोचाइमा छन् ।
आधुनिकता र नवीनताले धपक्कै ढाकेको नेपाली समाजले सुनको मोह अझै छोडिसकेको छैन । चाडपर्वमा त यसको मोह अझै बढी देखिन्छ । महिलाहरुको सुन्दरता र केही हदसम्म प्रतिष्ठासँग गाँसिएकाले नयाँ पुस्ता चटक्कै यसबाट अलग हुन नसकेको हो, वीरगन्जका गहना व्यवसायीहरु भन्छन्, ‘हिन्दूहरुको महान् चाड दीपावलीमा सुनका गहनाको माग उच्च हुन्छ । तर यसपालि सुनको बढ्दो मूल्यका कारण सुन र त्यसबाट निर्माण भएका गहना किन्नेहरुको भीड सुन पसलहरुमा देखिएको छैन ।’