काठमाण्डु, ६ असोज–आगामी महिना जेनेभामा सीरियाली सरकार र विद्रोही पक्षबीच हुने भनिएको शान्ति वार्ताका लागि विद्रोही पक्षले सर्त अघि सारेपछि जेनेभा शान्तिवार्ता पुनः अन्योलमा परेको छ । सीरियाली विद्रोही पक्षले राष्ट्रपति बशर अल असदको राजीनामा सहितका सर्त अघि सारेपछि वार्ता अन्योलमा परेको हो ।
मंगलबार ११ राष्ट्रका विदेशमन्त्रीसँग लण्डनमा भएको वार्तामा उपस्थित सीरियाली विद्रोहीले जेनेभा वार्ताका लागि सर्त अघि सारेका हुन् । सीरियाली विद्रोही प्रमुख अहमद जार्बाले आफ्ना सर्तहरु पूरा नभएसम्म गृहयुद्ध टुंग्याउने वार्तामा बस्न अस्वीकार गरेका छन् । उनले सीरियाली जनताले यसअघि पनि युद्ध अन्त्यको आश्वासन पाउँदै आएको तर झुटो आश्वासनका कारण सीरियामा शान्ति आउन नसकेको बताउँदै आफ्ना सर्तहरु स्वीकार नभएसम्म वार्ताको कुनै अर्थ नहुने तर्क अघि सारेका छन् । विद्रोही पक्षले राष्ट्रपति असदको राजीनामा, सिरियामा कब्जा गरिएका क्षेत्रहरुलाई सुरक्षितसाथ मुक्त गर्ने, बन्धक बनाइएका सबैलाई मुक्त गराउने, वार्ताका लागि निश्चित समयसीमा तोक्नेजस्ता मागसहितको सर्त अघि सारेको बताइएको छ ।
मंगलबार सिरियाली विद्रोही पक्षलाई आगामी महिना २३ तारिखमा जेनेभामा बस्ने शान्ति वार्तामा उपस्थित गराउन भएको वार्ताबाट सीरियाली विद्रोही पक्षलाई वार्ताका लागि सकारात्मक बनाउन नसकिएको देखिएको छ । बेलायती तथा अमेरिकी विदेशमन्त्री लगायतले सीरियाली विद्रोहीलाई वार्ताका लागि तयार बनाएरै छाड्ने प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको वार्तामा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, इजिप्ट, साउदी अरबिया, टर्की, जोर्डन, कतार र युएइका विदेशमन्त्रीहरु उपस्थित थिए ।