‘काली’मा रेखा सिढी चढदै,नाफा बटुल्दै

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १५:३० मा प्रकाशित

प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको जोडीलाई नचिन्ने धेरै छन तर ‘स्लोली स्लोली’ बोलको गीत नसुन्ने नेपाली थोरै छन । रेडियो र टेलिभिजनबाट त्यो गीत सुन्ने र देख्ने बित्तिकै चलचित्र ‘काली’ हरेक नेपालीको मानसपटलमा घुम्न थाल्छ । काली चलचित्र हेर्न पर्दामा नपुगेकालाई त्यसले हलसम्म पुरयाउन प्रेरित गर्छ भने चलचित्र हेरिसकेकाहरुलाई पुनर्ताजगी गराइदिन्छ । Rekha 2
काली चलचित्रमा अभिनेत्री रेखा थापा प्रहरी निरीक्षकको भूमिका देखिन्छिन । रेखालाई अभिनेता किशोर खतिवडाले साथ दिएका छन । महिलाहरु इमान्दार हुन्छन र उनीहरुले पनि नेतृत्व सम्हाल्न सक्छन भन्ने सन्देश काली चलचित्रले दिएको छ । रेखा भन्छिन ‘काली चलचित्रले महिलाहरुको मनोबल उठाउँछ ।’
मुलुकभरका ८० वटा पर्दामा एकैसाथ प्रदर्शन भइरहेको चलचित्र कालीले आठ दिनमा एक करोड ३७ लाख रुपैयाको व्यापार गरेको छ । काठमाण्डु उपत्यकाबाट ४८ लाख र मोफसलबाट ८९ लाख रुपैया बरावरको व्यापार भएको छ । सविर श्रेष्ठ निर्देशित कालीले रेखा थापालाई फेरी सिढी चढाएको छ । रेखाले काठमाण्डु टुडेसँग भनिन ‘काली चलचित्रको सफलताबाट म निकै उत्साहित छु ।’ Rekha 1

काली चलचित्रले रेखालाई सीढी मात्र चढाएको छैन,नाफा पनि बढाउदै लगेको छ । दर्शकहरुले मन पराएको चलचित्र कालीको नाफालाई आफूले द्धन्द पीडित बालबालिकाको पठन पाठनमा खर्च गर्ने योजना पनि उनले बताइन । आफनो छैठौ सम्मेलनमा सहभागी हुन काठमाण्डु आइपुगेका एक हजार तीन सय गैरआवासीय नेपालीहरुका लागि काली चलचित्र मनोरञ्जनको गतिलो साधन हुन सक्छ भने सामाजिक द्धन्द पीडित बालबालिकाका लागि अप्रत्यक्ष सहयोग पनि हुन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us