नाइजेरियामा हैजाका कारण ५० जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ४ गते १४:११ मा प्रकाशित

नाइजेरिया, ४ कात्तिक–नाइजेरियाको उत्तरपश्चिमी भागमा गत साता हैजाका कारण ५० जनाको मृत्यु भएको छ । सो रोगका कारण सन् २०१० मा यस मुलुकमा हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।
पछिल्लो पटक जामफारा राज्यमा यो रोग देखा परेको छ । यहाँ खानेपानीको प्रमुख पाइपलाइन बन्द भएपछि स्थानीय वासिन्दा खोला तथा कुवाको पानी खान बाध्य भएका थिए ।
जामफारा राज्यका स्वास्थ्य आयुक्त काबिरु जान्यायुले ५० व्यक्तिको मृत्यु भएको तथा अन्य धेरैको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
यस राज्यको केन्द्र गुसाउमा सडक निर्माणका कारण अधिकारीहरूले खाने पानी वितरण गर्ने मुख्य पाइपलाइन बन्द गरिदिएको जान्यायुले बताए ।
हैजा आन्द्रामा लाग्ने सङ्क्रमणकारी रोग हो जो पानीको स्रोतमा मानवको मलमूत्र मिसिँदा फैलन सक्छ । यसका कारण झाडापखाला र जलअल्पता हुनसक्छ र उपचार नहुँदा विरामीको मृत्यु हुनसक्छ ।
सन् २०१० तथा २०११ मा वर्षाको समयमा नाइजेरियामा हैजाको महामारी चलेको थियो र त्यसैका कारण करिब दुई हजार व्यक्तिको मृत्युभएको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us