
बारा, ३ कात्तिक – अज्ञात समूहको गोली प्रहारबाट मारिएका मोहमुद आलम पत्नी नजमा खातुनले आसन्न संविधानसभा निर्वाचलका लागि एमालेका तर्फबाट बारा–४ मा उम्मेदवारी दिएकी छन् ।
एमाले नेता कार्यकर्ताका साथ कलैयास्थित क्षेत्रीय निर्वाचन कार्यालय पुगेर खातुनले आइतबार उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टी केन्द्रको निर्देशनमा खातुनलाई उम्मेदवार बनाइएको एमाले बाराले जनाएको छ ।
असोज १७ गते उम्मेदवारी दर्ता गराएका आलममाथि त्यसको एक दिनपछि १८ असोजमा बाराको लिपनीविर्ता गाविसमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
टाउकामा गोली लागि गम्भीर घाइते भएका उनको काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा एक सातापछि निधन भएको थियो ।