मालद्वीपमा नयाँ निर्वाचनका लागि कामचलाउ सरकारको माग

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते १४:२५ मा प्रकाशित

माले–मालद्वीपमा प्रहरीले निर्वाचन स्थगन गर्न बाध्य पारेपछि प्रतिपक्षी नेता मोहमद नसिदले आइतबार नयाँ निर्वाचनका लागि काम चलाउ सरकार गठन गर्न माग गरेका छन । उक्त निर्वाचनमा उनले विजय हासिल गर्ने अनुमान गरिएको थियो ।
पूर्व राष्ट्रपति नसिदले राजधानी मालेमा पत्रकारहरूलाई पदमुक्त हुन लागेका राष्ट्रपति मोहमद वाहिदले तत्कालै पद त्याग्नुपर्ने र राष्ट्रिय सभामुखले राष्ट्रपति पदको नयाँ निर्वाचन गराउनुपर्ने बताए । उनले राष्ट्रपति वाहिदले शनिबार हुने भनिएको निर्वाचन गर्न नदिन प्रहरी प्रयोग गरी मुलुकमा संवैधानिक सङ्कट उत्पन्न गराइ शक्ति नियन्त्रण लिन लागेको आरोप लगाए ।
मालद्वीपको संविधान अनुसार नोभेम्बर ११ सम्म नयाँ राष्ट्रपति पस्थापन हुनुपर्छ । स्वतन्त्र निर्वाचन आयोगले भने उक्त मितिसम्म सो कार्य गर्न निकै कठिन हुने बताएको छ ।
वाहिदले स्वतन्त्र तथा निपक्ष निर्वाचन गर्न नसक्ने नसिदले दाबी गर्दै वर्तमान राष्ट्रपतिले निर्वाचनको मिति तोके पनि निर्वाचन हुन नदिने बताए । उनले आफ्ना समर्थकहरूलाई मुलुकमा निर्वाचन गराउन प्रदर्शन गर्न आग्रह गरेका छन । प्रहरीले शनिबारको निर्वाचन गैरकानुनी भएकाले गर्न दिएको थिएन र त्यसप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।
नसिदले सेप्टेम्बर ७ मा भएको निर्वाचनमा ४५ प्रतिशत मत प्राप्त गरेकाले यस निर्वाचनमा उनले विजय हासिल गर्ने अनुमान गरिएको थियो ।
प्रहरीले निर्वाचन अधिकारीहरूलाई मतदान केन्द्रमा जान रोकेपछि नसिदका सयौँ समर्थकहरूले सडक प्रदर्शन गरेका थिए र नसिदले आफ्ना समर्थकहरूले यस विषयमा आफ्नो आक्रोश देखाउनुपर्ने बताए ।
उनले समर्थकहरूलाई हिंसात्मक प्रदर्शन नगर्न पनि आग्रह गरेका छन । निर्वाचन आयोगका प्रमुख फुवाक थोवफिकले शनिबार राती टेलिभिजनमा अर्को निर्वाचन गर्न आफूलाई सामान्यतया तीन साताको समय आवश्यक पर्ने बताए । उनले नोभेम्बर २ वा ९ मा अर्को निर्वाचन गर्न प्रयास गर्ने पनि बताए ।     वाहिदले अर्को साता निर्वाचन गराउन सल्लाह दिएका छन । मालद्वीपमा निर्वाचन रद्द गर्ने कार्यप्रति भारतले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
निर्वाचन स्थगनप्रति भारतको गम्भीर ध्यानाकर्षण 

मालद्वीपका प्रहरीले शनिबार राष्ट्रपतिको निर्वाचन स्थगन गरेको विषयप्रति भारतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मतदान गैरकानुनी भएको घोषणा गर्दै प्रहरीले सो निर्वाचन हुन नदिएपछि भारतले मालद्वीपलाई थप राजनीतिक सङ्कटमा धकेल्ने काम भएको बताएको छ ।
यसअघिको पहिलो चरणको निर्वाचनमा सहभागी भएका दुई उम्मेदवारले अन्तिम समयमा अदालतमा मुद्दा दायर गरेपछि पनि निर्वाचन आयोगले निर्वाचन गर्ने नै तयारी गरेको थियो । तर निर्वाचनमा पराजित हुने निश्चित देखिएका दुई जना उम्म्ोदवारले भने सो निर्वाचन नगर्ने आदेशका लागि अदालत गएका थिए । शनिबार मतदानको सम्पूर्ण तयारी भएको र कार्यालयबाट मतपत्र लैजाने काममा प्रहरीले अवरोध गरेको थियो । तर अर्का उम्मेदवार मोहमद  नसिदका कार्यकर्ताहरुले भने हाम्रो मताधिकार खोई भनेर सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनले पहिलो चरणको निर्वाचनमा सबैले भन्दा बढी ४५.४५ प्रतिशत मत ल्याएका थिए ।
भारतीय विदेश सचिव सुजाथा सिंह शनिवारको निर्वाचन सम्पन्न गराउने काममा सघाउनका लागि भन्दै हालै त्यहाँ पुगेकी थिइन । सो निर्वाचन हुन नदिइएको प्रति भारतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन  नगरेर देशमा संवैधानिक निकायको अभाव हुँदै जाने भन्दै शनिवार निर्वाचन हुन नदिनुलाई गैर कानुनी भनेका छन् ।
यो सँगै मालद्वीपमा अबको राजनीतिक बाटो के हुने हो र राष्ट्रपतिका लागि अर्काे निर्वाचन कहिले हुने हो भन्ने विषय अनिश्चित नै रहेको छ ।
मालद्वीपमा निर्वाचन स्थगन गर्न प्रहरी प्रयोग

मालद्वीपका प्रहरीले शनिबार राष्ट्रपति पदको निर्वाचन स्थगन गर्ने कार्यलाई लागु गरेका छन्, उनीहरूले मतदान गैरकानुनी भएको घोषणा गरेका छन् र स्वतन्त्र निर्वाचन आयोगको कार्यालयबाट मतपत्र बाहिर जानबाट रोकेका छन् ।
दुई उम्मेदवारले अन्तिम समयमा अदालतमा मुद्दा दायर गरेपछि पनि निर्वाचन आयोगले पहिले घोषणा गरिएअनुसार निर्वाचन गर्ने तयारी गरेको थियो । यी दुई उम्मेदवार निर्वाचनमा गए उनीहरू पराजित हुने निश्चित देखिएको थियो ।
आयोगका अध्यक्ष फुवाद थोवफिकले एक विज्ञप्ति प्रकाशन गरी आफूहरूले मतदानको तयारी गरे पनि मालद्वीपको प्रहरी सेवाले निर्वाचनका कुनै पनि कागजात आयोगको कार्यालयबाट बाहिर जान नदिएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा निर्वाचनको अर्को मितिबारे पछि जानकारी दिइने उल्लेख गरिएको छ । प्रहरी प्रवक्ता अब्दुल्लाह नवाजले सर्वोच्च अदालतले सबै उम्मेदवारले मतदाताको सूचीमा समर्थन जनाउनु पर्ने आदेश दिएकाले उनीहरूले समर्थन नजनाएसम्म निर्वाचन गैरकानुनी हुने ठानिएको बताए । उनले केबल एक उम्मेदवारले मात्र मतदाता सूचीमा हस्ताक्षर गरेकाले त्यो निर्वाचनका लागि सर्वोच्च अदालतले जारी गरेको निर्देशिकाको विपरीत हुने बताए ।
सर्वोच्च अदालतले गत साता सेप्टेम्बर ७ मा भएको निर्वाचनमा अनियमितता भएको दाबी गर्दै त्यसलाई खारेज गरेको थियो । उक्त निर्वाचन निष्पक्ष तथा स्वतन्त्र भएको दाबी अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूले गरेका थिए । अदालतले अर्को निर्वाचनका लागि आदेश दिएको थियो ।
राजधानी मालेमा वर्षाका कारण त्यहाँ तत्कालै कुनै प्रतिक्रिया देखिएको छैन । पूर्व राष्ट्रपति मोहमद नसिदको मालदिभियन डेमोक्र्याटिक पार्टीले निर्वाचन हुन नदिन सरकारले प्रहरी प्रयोग गरेको आरोप लगाएको छ ।
विद्रोह गरी आएको सरकारले सर्वोच्च अदालतको निर्णय विपरीत राष्ट्रपति पदको निर्वाचन हुन नदन प्रहरी प्रयोग गरेको एमडीपीका सांसद मारिया दिदीले ट्वीटरमा बताएकी छन् ।
प्रहरीको घोषणा कारण निर्वाचन आयोगले यस द्वीपको केही दुर्गम क्षेत्रमा मतपेटिका लैजान पाएको छैन् । अमेरिका तथा क्षेत्रीय शक्ति भारतले कुनै पनि बाधा नगरी मालद्वीपमा निर्वाचन हुन दिन आग्रह गरेका छन् ।
मालद्वीपमा नोभेम्बर ११ नयाँ राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने भनी अन्तर्राष्ट्रिय समुदायले कडा दबाब दिएको बताइएको छ ।
भारतले आफ्नो विदेश सचिव सुजाता सिंहलाई मालद्वीपका नेताहरूसँग वार्ता गर्न बिहीबार त्यसतर्फ पठाएको थियो । पश्चिमी कूटनीतिज्ञहरूले पनि यस घटनालाई नजिकबाट नियालिरहेका छन् ।
उम्मेदवारले मतदाता नामावली नस्वीकार्दा मालद्वीपको निर्वाचन आशङ्कामा

मालद्वीप, १ कात्तिक-राष्ट्रपतिका प्रत्यासी दुई उम्मेदवारले मतदाता नामावली नस्वीकार्दा शनिवार हुने भनिएको निर्वाचन अनिश्चित बनेको छ । राष्ट्रपतिका प्रत्यासीद्धय अब्दुल्लाह यामिन र कसिम इब्राहिमले मतदाता नामावलीमा समर्थन नजनाएका कारण निर्वाचन अनिश्चित बनेको हो । राष्ट्रपतिका अर्का प्रत्यासी पूर्व राष्ट्रपति मोहमद नसिदले भने मतदाता नामावलीमा समर्थन जनाएका छन ।
मालद्वीपको निर्वाचन आयोगले शुक्रबार यस साताको अन्त्यमा हुने भनिएको निर्वाचनका दुई उम्मेदवारले अझै पनि मतदाता नामावलीलाई समर्थन गर्न बाँकी भएकाले अन्तिम समयमा निर्वाचन रद्द हुनसक्ने चेतावनी दिएको छ । मतदान केन्द्रहरू खोल्नु केही समय अगाडि मात्र आयोगका अध्यक्ष फुवाद थोवफिकले तीन उम्मेदवारमध्ये पूर्व राष्ट्रपति मोहमद नसिदले मात्र मतदाता नामावलीलाई समर्थन गरेको र शनिबार हुने भनिएको निर्वाचनको यो पूर्वसर्त भएको बताए । यदि शनिबार मतदान नभएमा एक उम्मेदवारको मात्र अधिकार हनन् हुने उनले बताए ।
अन्य दुई उम्मेदवार अब्दुल्लाह यामिन तथा कसिम इब्राहिमलाई मतदाता नामावलीमा समर्थन जनाउन आग्रह गर्दै निर्वाचन आयोगका अध्यक्ष थोवफिकले यी दुई उम्मेदवारले निर्वाचन हुन नदिनसक्ने बताए । शनिबारका लागि तोकिएको निर्वाचन निर्वाचन ती दुई उम्मेदवारको हातमा रहेको अध्यक्ष थोवफिकले बताए । नसिदको मालदिभियन डेमोक्र्याटिक पार्टीले नयाँ विकासप्रति चिन्ता व्यक्त गर्दै यसलाई निर्वाचन प्रक्रियामा बाधाको रूपमा लिएको छ ।
नसिद प्रजातन्त्रवादी आन्दोलनकर्ता मानिन्छन । उनले आफूलाई गत वर्ष अपदस्थ गरिएको दाबी गर्दै आएका छन । उनले सेप्टेम्बर ७ मा भएको निर्वाचनमा ४५.४५ प्रतिशत मत प्राप्त गरेका थिए ।
पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमका भाइ यामिनले उक्त निर्वाचनमा २५.३५ प्रतिशत मत प्राप्त गरेका थिए । यदि गत साता भएको निर्वाचनलाई स्वीकार गरिएको भए उनले नसिदसँग दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्नुपथ्र्यो ।
सर्वोच्च अदालतले उक्त निर्वाचनमा अनियमितता भएको भनी खारेज गरिदिएको थियो र  अन्तर्राष्ट्रिय सुपरिवेक्षकहरूले भने उक्त निर्वाचन स्वतन्त्र तथा निष्पक्ष भएको दाबी गरेका थिए ।
तेस्रो भएका उम्मेदवार इब्राहिमले अदालतमा दाबी गरेकाले उनले पनि यस निर्वाचनमा भाग लिने अवसर पाएका छन् । इब्राहिमका तर्फबाट तत्कालै कुनै टिप्पणी नभएको अवस्थामा यामिनका निर्वाचन व्यवस्थापक अब्दुल्ला अमिनले मतदाता सूचीमा अध्ययन गर्न बाँकी रहेको बताएका छन् । अमिनले आफूले सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन गर्न चाहेको बताए ।
मोहमद जमिल अहमदले आफ्नो निर्वाचन आयोगप्रति कुनै आस्था नभएकाले त्यसका सदस्यले राजिनामा दिनुपर्ने माग गरेका छन् । अहमदले वर्तमान निर्वाचन आयुक्तको साथमा निर्वाचन स्वच्छ र विश्वसनीय नहुने दाबी गरे । अन्तर्राष्ट्रिय समुदायले नोभेम्बर ११ सम्म नयाँ राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने दबाब दिएको छ ।
गयुमले तीन लाख ५० हजार जनसङ्ख्या भएको मालद्वीपलाई सन् २००८ मा पहिलो प्रजातान्त्रिक निर्वाचन पूर्व ३० वर्षसम्म शासन गरेका थिए । उक्त निर्वाचनमा उनी पराजित भएका थिए ।
पर्यवेक्षकहरूले गयुमका समर्थकहरूले अझै पनि न्यायपालिका जस्ता शक्तिका प्रमुख पदमा नियन्त्रण कायम गरेको र उनीहरूले नसिदलाई पुनः पदमा फर्कन नदिन चाहेको बताएका छन् ।
यसअघि मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदले शनिबार त्यहाँ राष्ट्रपतिका लागि नयाँ निर्वाचन हुने सुनिश्चितता व्यक्त गरेका छन । Maldives.svg
मालद्वीपको भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव सुजाथा सिंहसँगको औपचारिक भेटपछि शुक्रबार उनले त्यस्तो धारणा व्यक्त गरेका हुन । उनले भने–भारत पनि ढुक्क छ यहाँ भोलि (शनिवार) निर्वाचन हुनेछ र नयाँ निर्वाचनपछि आगामी महिनाको पहिलो साता सपथ पनि हुनेछ ।’
मालद्वीपमा राष्ट्रपतिका लागि शनिवार हुने भनिएको नयाँ निर्वाचन निश्चित रुपमा हुने भएको राजधानी मालेबाट विभिन्न सञ्चारमाध्यमले पनि जनाएका छन् । निर्वाचनको सुनिश्चितताका लागि भारतीय विदेश सचिव सिंह बुधबार माले पुगेकी हुन । उनले पनि केही दिनदेखि अनिश्चित बन्दै गएको भनिएको सो निर्वाचन समयमै गर्न जोड दिएकी छिन ।
मालद्वीपमा गत महिना भएको राष्ट्रपतिको नयाँ निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि अर्काे चरणको निर्वाचन सेप्टेम्बर महिनाको अन्तिम साताका लागि तोकिएको थियो । तर दोस्रो चरणको निर्वाचन तत्कालका लागि रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । नसिदका विपक्षीहरुले सो निर्वाचन रोक्न रिट गरेका बताइएको थियो ।     उक्त रिटमाथिको सुनुवाईपछि सर्वाेच्च अदालतले पनि अर्काे चरणको निर्वाचन नभई नयाँ निर्वाचनको पक्षमा फैसला गरेको थियो । मालद्वीपको सरकारले नयाँ निर्वाचनका लागि सबैलाई आग्रह गरेको छ । उसले सबै दललाई अर्काे तर नयाँ निर्वाचनका लागि तयार रहन आग्रह गरेको छ ।
यसअघिको गत सेप्टेम्बर ७ तारिखमा भएको निर्वाचनका पर्यवेक्षक एवम् अधिकारवादीहरुले स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए । उक्त निर्वाचनमा मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदले ४५.४५ प्रतिशत मत प्राप्त गरेका थिए । उनी नै सबैभन्दा बढी मत ल्याउने उम्मेदवार हुन ।
मालद्वीपमा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनमार्फत राष्ट्रपति बनेका नसिदलाई प्रहरी विद्रोहमार्फत पूरा कार्यकाल कामै गर्न नदिई हटाइएको थियो ।     त्यसयताको मालद्वीप लगभग तनावमा रहेको छ । उक्त तनावका कारण आगामी निर्वाचन पनि निष्पक्ष हुनेमा आशङ्का व्यक्त गरिएको छ ।
सरकारले नयाँ निर्वाचन यही अक्टोबर १९ का लागि तोकेको बताएको छ । मालद्वीपको निर्वाचन आयोगले पनि शनिवारको निर्वाचनका लागि सबैसँग आग्रह गरेको छ । विदेश सचिव सिंहले शुक्रबारै मालद्वीपमा राष्ट्रपति मोहम्मद वाहिदसँग पनि भेटघाट गर्नुुहुने कार्यक्रम रहेको छ । वाहिद भने यो नयाँ निर्वाचनको दौडबाट पछि हट्ेका छन । त्यसैगरी यस निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारी अरु दुई जना सदस्यसँग पनि उनले भेट गर्ने समाचारमा जनाइएको छ । यो निर्वाचनमा तीन जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । यस निर्वाचनमा पूर्व राष्ट्रपति नसिद पनि एक बलियो प्रतिश्पर्धी हुन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us