‘बजेट विवादबाट अर्थतन्त्रमा अनावश्यक क्षति’

काठमाण्डु टुडे २०७० असोज ३१ गते १७:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाराक ओबामाले बजेट संकटका सम्बन्धमा हासिल भएको सहमतिका सम्बन्धमा बोल्दै उक्त समग्र प्रकरणलाई आफैले आफूमाथि लादिएको संकट भनि निन्दा गरेका छन्।

उनले त्यसबाट अमेरिकी अर्थतन्त्रमा एकदम अनावश्यक क्षति पुगेको बताएका छन्।

सरकार आँशिक रुपमा बन्द हुंदा त्यसबाट अमेरिकी आर्थिक बृद्धि सुस्ताएको विश्लेषकहरुको विश्वास रहेको पनि उनको भनाइ थियो। यो समग्र घटनामा कोही पनि विजयी नभएको राष्ट्रपति ओबामाले बताए।

मुद्रा कोष
त्यस अघि अन्तर्राष्ट्रिय मुद्राकोष, आइ एम एफ कि प्रमुखले संयुक्त राज्य अमेरिकामा त्यहांको वित्तीय व्यवस्थापनको विषयलाई लिएर उत्पन्न अनिश्चितताको अन्त्य हुनु पर्ने माग गरेकी थिइन्।

अमेरिकामा सरकारले ऋण तिर्न नसक्ने अवस्था आउन सक्ने जोखिम कंग्रेसमा भएको एउटा सहमति मार्फत हटेपछि आइ एम एफ प्रमुखको त्यस्तो भनाई आएको हो।

उक्त सहमतिलाई चीन लगायत विश्वका विभिन्न क्षेत्रबाट स्वागत गरिएको छ।चीनले उक्त सहमतिलाई स्वागत गरेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यसलाई महत्वपूर्ण र आवश्यक भनेको छ।

आइ एम एफ कि प्रमुख क्रिस्टीन लागार्डले सहमतिको समाचारप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै थप कदमहरु चाल्न आह्वान गरेकी छिन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले १६ दिनसम्म सरकारी कामकाज बन्द भएको स्थितिलाई अन्त्य गर्दै र अमेरिकी कर्जा सीमालाई बढाउने एउटा कानुनमा हस्ताक्षर गरेपछि लाखौं अमेरिकी सरकारी कर्मचारीहरु काममा फर्कंदैछन्।

सहमति

उक्त अन्तरदलीय सहमति अमेरिकी सरकारसंग आफ्नो बक्यौता चुक्ता गर्नका लागि रकम समाप्त हुने स्थिति आउनु केही घण्टा अघि हासिल भएको थियो।

राष्ट्रपति ओबामाले अन्तिम समयमा आएर सहमति गर्नुपर्ने हालको जस्तो स्थिति फेरि नदोहरिने आशा व्यक्त गरेका छन्।

उनले भने,“यो समग्र प्रकृयाभरी नै मैले भन्दै आएको एउटा कुरा के हो भने हामीले संकटकालीन रुपमा शासन चलाउने अभ्यासबाट बाहिरीनु पर्छ।

“मलाई लाग्छ , हामीले विवादित मुद्दाहरुका माझ काम गर्न सक्छौं र असहमतिहरुका माझ पनि सहमत हुनसक्ने अवस्था रहन्छ भन्ने शिक्षा यो पटक हासिल गरेका छौं,“ उनले भने।

गत अक्टोबर एक तारिखभित्र बजेटमा सहमति जनाउन कंग्रेस असफल भएपछि अमेरिकी सरकार १६ दिनसम्म आंशिक रुपमा ठप्प हुन पुगेको थियो।

अमेरिकी राष्ट्रपति बाराक ओबामाराष्ट्रपति ओबामाले बजेट विवादबाट कोही पनि विजयी नभएको बताएका छन्

वाशिंगटनमा हासिल भएको उक्त सहमतिले सरकारी खर्च अब आगामी जेनुअरी महिनाको १५ तारिखसम्मलाई धान्नेछ।

साथै अर्थमन्त्रालयले कर्जा लिन पाउने अधिकारको सिमालाई पनि आगामी ७ फेब्रअरीसम्म थप गरिएको छ।
अस्थायी

तर उक्त सहमतिले अस्थायी समाधान मात्र प्रस्तुत गर्दछ।

त्यसले रिपब्लीकन र डेमोक्र्याटहरुलाई चर्को रुपमा विभाजीत गरेको बजेटमा विद्यमान असहमतिका मुद्दाहरुलाई सल्टाएको छैन।

बदलामा आगामी महिनाहरुमा दीर्घकालीन बजेट सहमति हासिल गर्न सकिने उपाय पत्ता लगाउन विभिन्न दलहरुका प्रतिनिधिहरु सहितको एउटा कमिटि गठन गरिएको छ।

रिपब्लीकनहरुको कट्टरपन्थी “टी पार्टी” आन्दोलन गुटले स्वास्थ्यसेवाको क्षेत्रमा राष्ट्रपति ओबामाले ल्याएका सुधारका कार्यक्रमलाई प्रभावित तुल्याउने उद्देश्यले विवादको विषयलाई चर्काउन खोजेको थियो।

तर यो विषयमा राष्ट्रपति ओबामा र डेमोक्र्याटहरुले वार्ता गर्न अस्वीकार गरेपछि ओबामाकेयर नामले चिनिएको उक्त स्वास्थ्य सुधार ‌ऐन विना कुनै क्षति उम्कन सफल देखिएको छ।

राजनीतिज्ञ, ब्यांकर र अर्थशास्त्रीहरुले अमेरिकी सरकारले कर्जा लिन पाउने सिमा बढाउने सम्बन्धमा सहमतिमा नपुगिए विश्वव्यापी आर्थिक विपद आउने चेतावनी दिएका थिए। Source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us