दाङमा १४ हजार बालबालिका विद्यालय बाहिर

काठमाण्डु टुडे २०७० असोज ३१ गते ७:०९ मा प्रकाशित

तुलसीपुर (दाङ), ३१ असोज–सरकारले बर्सेनि विद्यालय भर्ना अभियानका लागि जिल्लामा लाखौँ रुपैयाँ खर्च गरे तापनि जिल्लामा अझै करिब १४ हजार बालबालिका विद्यालय बाहिर छन् ।
विद्यालय भर्ना अभियानका लागि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको सो अभियान सम्बन्धित ठाउँसम्म पुग्न सकेको छैन । जिल्लामा मात्रै अहिले विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका १३ हजार ६३१ बालबालिका छन्, यो जुन कुल सङ्ख्याको सात प्रतिशत हो । जिल्ला शिक्षा कार्यालयका अनुसार बाहिर रहेकाहरुलाई विद्यालयमा ल्याउन विभिन्न उपाय अपनाइए पनि सोअनुसारको उपलब्धि हासिल हुन सकेको छैन ।
जिल्लाका ३९ गाविस र दुई नगरपालिकामा गरी उक्त सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क छ । सबैभन्दा बढी घोराही नगरपालिकामा एक हजार ९३, गोबरडिहा गाविसमा एक हजार २३, डुरुवामा ९८८ र लालमटियामा ७९३ जना छन् ।
यस्तै जिल्लामा सबैभन्दा कम बालबालिका विद्यालय बाहिर रहेकामा टरीगाउँ गाविसमा ५४ जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको पहुँचमा नआएकामध्ये ६० प्रतिशत थारु समुदायका बालबालिका छन् । यसैगरी ३० प्रतिशत दलित, जनजाति र १० प्रतिशत अन्य जातजातिका रहेको बताइएको छ । विद्यालय छाडेका र उमेर भएका बालबालिकाका लागि शिक्षा आर्जनका लागि लोहारपानी, फूलबारी, हलवार, ढिकपुरल र उरहरी गाविसमा कक्षा सञ्चालन गरिएको छ ।
बाढीले घरखेत बगाएपछि …
असारको पहिलो साता महाकालीमा आएको बाढीले घरखेत बगाउँदा भीमदत्तनगरपालिका–१२ पिपरैयाका बालबालिका विद्यालय जान छाडेका छन् ।
घरखेत बगाएर विस्थापित पिपरैयाका ४५ वर्षीया अफिलाल सुनारका तीन छोरा विद्यालय जान छाडेर यतिबेला माछा मार्न बाध्य छन् । स्थानीय वैद्यनाथ निकेतनमा अध्ययनरत सुनारका तीनै छोरा बिहान उठ्नेबित्तिकै हातमा माछा मार्ने बल्छी लिएर महाकाली नदीतिर जाने गर्छन् । पहिले बिहान उठेर विद्यालय जान हतारिने सुनारका छोराहरु बाढीले बिचल्ली बनाएपछि महाकाली नदीमा माछा मार्न जान थालेका हुन् ।
कक्षा ७ मा पढ्ने सागर सुनार तथा कक्षा ६ मा पढ्ने पारस सुनार र देवी सुनारका जम्मै शैक्षिक सामग्रीलगायत विद्यालय पोसाकसमेत महाकालीले बगाएपछि उनीहरु विद्यालय जान छाडेको उनीहरुका बुबा अफिलालले बताए । नदीले पाँच कट्ठा जमिन, घर र गोठ बगाएपछि आफू अर्काको घरमा बस्न बाध्य भएको सुनारको दुखेसो छ । “छोराहरुका लागि विद्यालय पोसाक र कापी किताब किन्न नसकेका कारण उनीहरु विद्यालय जान छाडे’’–सुनारले भने “मसँग कापी, कलम र विद्यालय पोसाक किन्ने पैसा छैन, कसरी विद्यालय जाऔँ भन्छन्, विद्यालय जाँदा शिक्षकहरुले खै कापी, कलम, पोसाक भन्छन्, दिनभरि माछा मार्छन्, साँझपख त्यही माछा खाएर रात काट्छौँ” सुनारले भने ।
बाढीले घरखेत बगाएपछि दैनिक हातमुख जोर्नसमेत पीडितलाई धौ धौ भएको छ । विसं २०२४ देखि सो ठाउँमा बसोवास गर्दै आएका स्थानीयवासीले २०५१ सालदेखि महाकालीको सन्त्रास बोक्दै आएका छन् । विसं २०६५ देखि महाकालीले उक्त क्षेत्रमा तीव्र कटानी गर्दै गरे पनि २०७० सालको बाढीले सोही क्षेत्रको महाकाली किनारका बस्तीमा उनीहरु विस्थापित हँुदैछन् । यस वर्ष मात्रै १२० परिवार विस्थापित छन् । महाकालीमा पक्की बाँध भएमात्रै उक्त बस्ती जोगिने स्थानीयवासीको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us