अमेरिकी संसदको विवाद अन्त्य नभए बिश्वव्यापी बित्तीय मन्दी पुन शुरु हुन सक्ने चेतावनी

काठमाण्डु टुडे २०७० असोज २८ गते ९:२५ मा प्रकाशित

वासिङटन, २८ असोज-अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टिन लेगार्डले ऋणको सीमा नबढेमा सन् २००८ को विश्वव्यापी वित्तीय मन्दी पुनः आरम्भ हुनसक्ने बताएकी छन । अमेरिकी संसदमा देखिएको तनाव अन्त्य नभएपछि उनले त्यस्तो धारणा व्यक्त गरेकी हुन ।
अमेरिकी अर्थमन्त्री ज्याकोव ल्युले अन्तर्राष्ट्रिय मुद्रा कोषको नीति समितिलाई वासिङ्टनले सुरक्षित स्थलको रूपमा रहेको आफ्नो ख्याति जोखिममा परेको कुरा बुझेको बताए । अमेरिकी शेयर बजार राष्ट्रपति बाराक ओबामा, उनका डेमोक्र्याटिक पार्टी, तथा प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीबीच सहमति नभएमा सम्भावित ऋण तिर्न नसक्ने अवस्थाप्रति सचेत देखिएको छ ।
अमेरिकाले अक्टोबर १७ अगाडि आफ्नो ऋणको सीमा बढाएन भने ऊसँग पैसाको अभाव हुनेछ र यसले इतिहासमा पहिलो पटक आफ्नो ऋण तिर्ने जिम्मेवारी पूरा गर्न सक्नेछैन । यस्तो अवस्था आउन नदिन सिनेटका डेमोक्र्याटिक पार्टीका नेता ह्यारी रिडले सिनेटका रिपब्लिकन नेता मिच म्याकोनेलसँग वार्ता गरेका थिए तर त्यसबाठ ठोस समाधान प्राप्त हुनसकेन ।
बैङ्क अफ फ्रान्सका गभर्नर क्रिस्टिन नोयरले यस विषयमा समाधान प्राप्त नसके गम्भीर प्रभाव पर्ने बताए । एसियाको बजारमा यसै समस्याका कारण मन्दी देखिएको छ । सिङ्गापुरमा डलरको मूल्य खस्केको छ ।
अमेरिकी सरकारी खर्च बन्द भएको अवस्थादेखि संसदप्रति समर्थनको दर घटेको र यसको दोष रिपब्लिकन पार्टीमा गएको अभिमत सर्वेक्षणहरूमा देखिएको छ । रिपब्लिकन पार्टीले ऋणको सीमा छ साताको लागि बढाउने, त्यसबीच सरकारी खर्च पुनः खोल्ने र दीर्घकालीन समाधान दिने भनी राखेको प्रस्तावलाई राष्ट्रपति ओबामाले अस्वीकार गरेका छन ।
यसबीच राष्ट्रपति ओबामा तथा संसदमा डेमोक्र्याट नेता नान्सी पेलोसीले आफूहरू नझुक्ने र संसदले बजेटका साथ ऋणको सीमा बढाउनु पर्ने माग अगाडि राखेका छन ।
यसबीच रिपब्लिकन सिनेटर सुसान कोलिन्सले ऋण सीमा एक वर्षका लागि बढाउने, बजेट पारित गर्ने तथा राष्ट्रपति ओबामाको स्वास्थ्य कानुन अनुसार चिकित्सा उपकरणमा लाग्ने कर हटाउने भनी राखेको प्रस्तावलाई सिनेटका नेता रिडले अस्वीकार गरेका छन ।
रिपब्लिकन तथा डेमोक्र्याटहरू मुलुकको वित्तीय प्रशासनका विषयमा गत दुई सातादेखि द्वन्द्वमा देखिएका छन् । उनीहरूले आइतबार सकारात्मक सङ्केत दिने प्रयास गरे पनि विश्वव्यापी आर्थिक कठिनाइको चेतावनीबीच पनि कुनै समाधान प्राप्त गर्न सकेको देखिएको छैन ।
अक्टोबर १ देखि सरकारको खर्च गर्ने अधिकार रोकिएको छ र यसलाई खोल्न आइतबार सिनेटको बैठक बसेको थियो । अमेरिकी यस बजेट समस्याका कारण मुलुकभित्र व्यावसायिक विश्वास गुमेको छ भने विश्वमा अमेरिका सबैभन्दा शक्तिशाली आर्थिक मुलुकको रूपमा रहेको ख्याति कमजोर भएको छ ।
अमेरिकी संसदको माथिल्लो सभाका सांसदहरू सङ्घीय सरकारको खर्च पुनः आरम्भ गर्ने तथा मुलुकको ऋण सीमा बढाउने विषयमा सहमतिमा पुग्न नसकेको अवस्थामा अमेरिका आफ्नो ऋण तिर्न नसक्ने सीमाको नजिकै पुग्न लागेको देखिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us