दानका भरमा दसैँ

काठमाण्डु टुडे २०७० असोज २५ गते १५:०० मा प्रकाशित

काठमाण्डु, असोज- छ महिनाको हुँदा आमा र बुबाको झगडामा परी जलेका कारण द्वारिका थापा हात, टाउको र शरीरका विभिन्न अङ्ग पोलिएर ‘अपाङ्ग’ जीवन जिउन बाध्य भइन् ।
यसरी ‘अपाङ्ग’ हुन पुगेकी उनलाई गाउँका सबैले निकै माया गर्थे तर तीन वर्षअघि आमा र दुई वर्षअघि बुबाको मृत्यु भएपछि भने उनी अपाङ्गका साथै अनाथ पनि भइन् । आफ्नो संरक्षकका रुपमा हजुरबुबा मात्र भएपछि उनको पालनपोषणमा समस्या पर्न थाल्यो । दैलेखजस्तो दुर्गम ठाउँमा राम्रो प्रसूति सेवाको अभावका कारण उनकी आमाले ज्यान गुमाउनुपरेको थियो भने कमलपित्तको समयमा नै उपचार नगराउँदा बुबाले संसार त्यागे । उनका एक भाइ र एक बहिनीको जिम्मेवारीसमेत हजुरबुबामा नै आयो । समस्यै समस्यामा गुज्रिरहेको १२ वर्षे उनको जीवनमा काठमाडौँको चपलीमा सञ्चालित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र आशाको किरण बनेर आयो ।
दसैँको चहलपहलमा घरमा आमाबुबा, भाइसँगै हुँदा दसैँ मनाएको झल्झली याद आउने उनी बताउँछिन् । उनी भन्छिन्– ‘‘गाउँमा पिङ खेल्न गएको, हजुरबुबा, आमाबुबाको हातबाट टीका थापेको निकै याद आउँछ, दसैँमा फूपू, मावलका आफन्त पनि आउँथे तर जब आमा र बुबा बित्नुभयो त्यतिबेलादेखि कोही पनि हाम्रो घरमा आएनन् ।’’ केन्द्रमा आश्रित उनी स्थानीय गणेश माविमा कक्षा ५ मा अध्ययनरत छिन् ।
सोही केन्द्रका १२ वर्षीय जनक हमालले पनि घरमा मनाएको दसैँलाई भुल्न सकेका छैनन् । भर्खर पाँच महिना मात्रै भयो उनी केन्द्रमा आएको तर उनलाई घरमा भन्दा निकै रमाइलो केन्द्रमा नै लाग्छ । दुई वर्षअघि बुबा बितेपछि उनको पनि जीवन असहज बन्न थाल्यो । चरम गरिबीका कारण उनकी आमा आफ्ना दुवै छोरालाई केन्द्रमा राख्न बाध्य भइन् ।
आफ्नो उमेरभन्दा निकै परिपक्व देखिने बर्दियाका जनक भन्छन्– ‘‘घरमा हुँदा दसैँको बेला टाढा टाढा गएका साथीहरु आउँथे, उनीहरुसँग खेल्ने, घुम्न जाने गरिन्थ्यो ।’’ मावलका हजुरआमाको हातबाट टीका र आशीर्वाद पनि थाप्ने गरेको उनी सम्झन्छन् । ‘‘बुबा छँदै बुबाको र अङ्कलको झगडाका कारण बुबाको मृत्युपछि अङ्कलले हामीलाई पनि घरमा केही नोक्सान नगरोस् भनेर ममीले यहाँ छाड्नुभएको हो’’ –उनले भने ।
गणेश माविमा नै कक्षा ४ मा अध्ययनरत जनक आफूलाई यहाँ छाड्ने बेलामा ममीले राम्रोसँग पढ्नू, ठूलो मान्छे बन्नू भनेको कुरा अझै पनि याद आइरहने बताउँदै उनी भन्छन्– ‘‘म पढेर इन्जिनियर बन्छु अनि आफू जस्तै कोही नभएकाको सेवा पनि गर्छु ।’’ पाइलट बन्ने लक्ष्य लिएका कालीकोटका आठ वर्षीय महेश पाण्डेलाई आफ्नो घर र आफन्तसँग दसैँ मनाएको त याद छैन तर केन्द्रमा नै दसैँ मनाएको भने रमाइलो लाग्ने गर्छ । पाँच वर्षको हुँदा कालीकोटबाट केन्द्रका अध्यक्ष नै गएर उनलाई काठमाडौँ ल्याएका थिए । द्वन्द्वका क्रममा बुबाको मृत्यु भएपछि आमाले उनलाई पालेकी थिइन् ।
हाल चपलीस्थित ध्रुवतारा स्कुलमा युकेजीमा पढिरहेका महेशलाई केही दिनअघि मात्र उनकी आमा फलफूल र चकलेट लिएर भेट्न आएको बताउँदै उनले भने– ‘‘आमाले मलाई काखमा राखेर बोक्नुभयो मलाई माया गर्नुभयो तर मलाई उहाँसँगै जान भने मन लागेन, अब त यहीँ नै रमाइलो लाग्न थालिसकेको छ ।’’
महेशकै ‘बेस्ट फ्रेन्ड’ मानबहादुरको पनि पाइलट बन्ने इच्छा छ । अछामका नौ वर्षीय मानबहादुरलाई छ वर्षअघि केन्द्रमा ल्याइएकाले उनलाई पनि आफन्त र घरबारे केही पनि जानकारी छैन । माओवादीमा लागेका उनका आमा र बुबाको मृत्यु द्वन्द्वका बेला भएको थियो । उनको कोही आफन्त नभएकाले पनि उनलाई यस केन्द्रमा ल्याइएको थियो । केन्द्रमा कैलाली, धनगढी, अछाम, दैलेख, बर्दियालगायत चार वर्षदेखि १५ वर्ष उमेरसम्मका ४० बालबालिकालाई राखिएको छ । केन्द्रमा तीन अपाङ्गता भएका, तीन जना जेलमा सजाय भोगिरहेका सन्तान र बाँकी अनाथ बालबालिका छन् ।
आफू स्वयम् पनि अपाङ्गता भएकाले अरुको सेवा गर्नुपर्छ भन्ने भाव आएपछि केन्द्रको स्थापना गरेको केन्द्रका अध्यक्ष तिलबहादुर कार्की बताउछन । जन्मँदै अपाङ्गता भएका कार्कीलाई जन्म दिने आमालाई समाजले हेर्ने दृष्टिकोणमा नकारात्मक फरक आएको थियो । आफ्नो कारणले आमाको मृत्युसमेत हुने वातावरण सिर्जना भएपछि छ वर्षका उमेरमा घरलाई त्यागेर काठमाडौँ आएको उनी स्मरण गर्छन । ।
काठमाडौँमा करिब २० वर्ष सडकमा बसेर माग्ने काम गरेका कार्की आफ्ना विगतलाई कोट्याउँदै भन्छन–‘‘जाडो महिनामा सडकमा सुत्दा निद्रा नआउने हुनाले मान्छे पोलेर खाली पारेको तातो ठाउँमा गएर सुत्थेँ किनकि त्यहाँ तातो भएपछि मलाई निद्रा आउँथ्यो, दिनभर जहाँ गएर मागे पनि रातमा सुत्न भने म पशुपति आर्यघाटमा नै पुग्थेँ ।’’
‘‘यस्तो परिस्थितिमा मैले २० वर्ष मागेर करिब रु पाँच लाख जम्मा गरेँ, त्यो पैसाले आफू जस्तै अपाङ्गता भएका र अनाथले दुःख पाउनु नपरोस् भनेर मैले संस्था खोल्ने निर्णय गरेँ र आफूजस्तै मागेर जीवन गुजारिरहेका साथी मिलेर सात सदस्यीय कार्यसमिति बनाई संस्था दर्ता ग¥यौँ । संस्था खोलेको पहिलो वर्ष असाध्यै गाह्रो भयो, त्यो रु पाँच लाख त बालबालिकालाई बस्ने व्यवस्था मिलाउनमै खर्च भयो ।’’ तेह्र बालबालिकाबाट सुरु गरिएको कामका लागि अब कहाँबाट कसरी दाता जुटाउने भन्ने समस्याले निकै समय पिरोलेको अनुभव उनले सुनाए ।
विस्तारै आफूले भेटेजतिका साथीलाई एक पटक केन्द्रमा गएर बालबालिकाको अवस्था हेर्न आग्रह गरेपछि केही सहयोग आउन थालेको उनले बताए । केन्द्रको अवस्थामा सुधार आउन थालेको उनको उनको अनुभव छ । दसैँको बेला प्रत्येक वर्ष कोही न कोही दाताले आएर सहयोग गर्ने गरेकाले बालबालिकालाई दसैँको बेला एक जोर नयाँ कपडा र खाद्यान्नको व्यवस्था हुने गरेको छ ।
यस वर्षको दसैँका लागि पनि एउटा खसी सहयोगस्वरुप आइसकेको र नवमीसम्मका लागि बालबालिकालाई खाना खुवाउन विभिन्न दाताले नाम लेखाइसकेको उनले जानकारी दिए ।
सबैजना सहयोगी भने नभएको तर दसैँका मुखमा आएर अहिले बसिरहेको घर खाली गर्नुप¥यो भनेर दबाब आइरहेकाले यस वर्षको दसैँ धापासीस्थित नयाँ घरमा मनाउने तयारी पनि भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us