आनुबंशिक कोषको सञ्चालन प्रणालीमा नयाँ सफलतामा, तीन बैज्ञानिकले पाए चिकित्साशास्त्रको नोबेल पुरस्कार

काठमाण्डु टुडे २०७० असोज २१ गते १६:२९ मा प्रकाशित

स्कटहोम–अमेरिकी नागरिक जेम्स रोथम्यान तथा र्यान्डी सेकम्यान तथा जर्मनी नागरिक थोमस सुडहफले चिकित्साशास्त्रको नोवेल पुरस्कार प्राप्त गरेका छन । कोषले आफ्नो सञ्चालन प्रणालीको संयोजन गर्ने बिधिका वारेमा उनीहरुले गरेको अध्ययनबाट नयाँ उपलब्धी हासिल भएका कारण उनीहरुले सो पुरस्कार प्राप्त गरेका हुन ।
रोथम्यान,सेकम्यान र सुडहफको अनुसन्धानले मधुमेहदेखि रोगप्रतिरोधात्मक प्रणालीमा देखिने खराबी जस्ता रोगका विषयमा जानकारी प्राप्त गर्न सहयोग पुगेको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।
एउटा कोषमा परमकोष (मोलेक्युल) ले कसरी काम गर्छ र आन्तरिक सञ्चालन प्रणालीमा भेसिकल्स भनिने साना फोकाहरूको आधारमा कसरी चारैतिर घुम्छ भन्ने कुरा ती बैज्ञानिकले अध्ययन गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
अतिसुक्ष्म वातावरणमा निकै ठूलो चुनौतीका साथ गरेको अनुसन्धानबाट ती बैज्ञानिकले साना फोकाहरू कसरी सही समयमा सही स्थानमा आइपुग्छन् भन्ने कुरा पत्ता लागेको समितिले जनाएको छ । यदि यी फोकाहरू सही समयमा नपुगेमा वा गलत ठाउँमा पुगेमा कोषले काम गर्न नसक्ने वा गलत काम गर्ने देखिएको उनीहरुको अनुसन्धानबाट पत्ता लागेको छ ।
यस प्राप्तिका आधारमा रोथम्यान, सेकम्यान तथा सुडहफले निकै सुक्ष्म कोषको सञ्चालन प्रणालीले कसरी नियन्त्रणको काम गर्छ भन्ने देखाउनु रहेको नोबेल समितिले बताएको छ ।
सेकम्यानले एएफपीलाई स्टकहोमबाट सूचना प्राप्त गर्दा आफू स्तब्ध भएको बताए । ६४ वर्षीय सेकम्यान बर्कलीस्थित क्यालिफोर्निया विश्वविद्यालयका मोलेक्युलर कोष जीवशास्त्रका प्राध्यापक हुन । ५८ वर्षीय सुडहफ स्ट्यान्डफोर्ड विश्वविद्यालयका परमकोष तथा कोष जीवशास्त्रका प्राध्यापक हुन ।
६२ वर्षीय रोथम्यान यल विश्वविद्यालयका कोष जीवशास्त्र विभागका अध्यक्ष हुन । उनले आफू यस पुरस्कारबाट निकै सम्मानित भएको बताएका छन । यी तीनै वैज्ञानिक अमेरिकी विभिन्न विश्वविद्यालयमा प्राध्यापक छन । उनीहरुले भेसिकल प्रणालीका विभिन्न पक्षमा स्वतन्त्र रूपमा काम गरेका छन ।
सेकम्यानले आफ्नो अध्ययन १९७० मा आरम्भ गरेका थिए । त्यस समयमा उनी कोषीय आनुवांशिक अध्ययनमा रुचि राख्थे । सन् १९८० को दशक र सन् १९९० को दशकमा रोथम्यानले स्तनधारीको कोषको भेसिकल्स सञ्चालन प्रणालीमा अध्ययन गरेका थिए ।सुडहफले स्नायु कोषले मस्तिष्कमा एक अर्कासँग कसरी सञ्चार गर्छ भन्ने कुराको अध्ययन गरेका थिए ।
उनीहरुले ८० लाख स्विडिस क्रोनर अर्थात १२ लाख ५० हजार अमेरिकी डलर वा नौ लाख २५ हजार युरो आपसमा बाँडेर लिनेछन । सन् २००१ मा यस पुरस्कारको राशि एक करोड क्रोनर थियो र आर्थिक सङ्कटका कारण यसको मूल्य घटेको छ ।
उनीहरुले डिसेम्बर १० मा स्टकहोममा औपचारिक समारोहमा उक्त पुरस्कार प्राप्त गर्नेछन । सोही दिन सन् १८९६ मा अल्फ्रेड नोबेलको देहावसान भएको थियो ।
रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us